काठमाडौं, २० जेठ । सर्वोच्च अदालतले मादक पदार्थ सेवनलगायतका कसुरमा ट्राफिक स्वयंसेवक खटाउने गृह मन्त्रालयको निर्णयमा रोक लगाएको छ । गणतन्त्र दिवसको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मापसेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक स्वयंसेवक खटाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध बझाङका कृष्ण विकसहित सात जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
ट्राफिक स्वेयंसेवक खटाउने कार्य तत्काल नरोके नागरिक अधिकार हनन हुने र स्वयंसेवकका रुपमा तालिम प्राप्त नभइ खटिएका व्यक्तिहरुको भविष्यमाथि खतरा पर्ने भन्दै रिट निवेदकले प्रहरी प्रशासनबाट सो कार्य नगर्नु, नगराउनु माग गरेका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले रिट निवेदकको मागदाबी बमोजिम अन्तरिम आदेश जारी गर्दैै विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।