Logo

‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’



काठमाडौँ, २० जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको बजेटको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले विशेष गरी कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिन आग्रह गरे ।

सांसद झक्कुप्रसाद सुवेदीले कृषि क्षेत्र, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेको बताए । रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको तथा आर्थिक सुधारलाई विशेष ध्यान दिएकाले बजेट वस्तुनिष्ठ रहेको उनको भनाइ छ ।

सांसद भुवनबहादुर सुनारले विगतमा बन्द भएका उद्योग प्रतिष्ठान पुनःसञ्चालन गर्ने, आयात निरुत्साहना गर्ने लक्ष्यका साथ बजेटले विशेष प्राथमिकतामा राखेको, ग्रामीण विकास कार्यक्रमलाई महत्व दिएको बताए ।

सांसद सुरेश आलेमगरले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउने उद्देश्यका साथ सरकारले आगामी आवको बजेट प्रस्तुत गरेको, वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमी बनाउने योजना अगाडि सारेकामा प्रसन्नता व्यक्त गरे । देशभर निर्माण गरिएका विमानस्थल सञ्चालनको मोडालिटी के ? भन्ने प्रश्न गर्दै त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

छलफलमा भाग लिँदै सांसद उर्मिला अर्यालले सामाजिक न्यायको अभिवृद्धि, गरिबी न्यूनीकरण, स्रोत व्यवस्थापन, आर्थिक वृद्धिको लक्ष्यलाई ख्याल गर्नुपर्ने बताए । आर्थिक वृद्धिदरको लक्ष्यलाई बजेटले कसरी सम्बोधन गर्ला भन्ने जिज्ञासा राख्दै उनले रोजगारी र गरिबी न्यूनीकरणका लागि के कसरी काम गर्ला भन्नेमा सरकारले प्रष्ट जवाफ दिनुपर्ने उल्लेख गरे ।

सांसद दुर्गा गुरुङले सुन्दा बजेट राम्रो भए पनि कार्यान्वयनमा आशङ्का रहेको बताए । उनले पुँजीगत खर्च हुन नसकेको, राजस्व वृद्धि हुन नसकेको अवस्थामा ठूलो आकारको बजेटले उत्साह नभई निराशा मात्रै बढाउने आरोप लगाए ।

सांसद नारायणदत्त मिश्रले अर्थमन्त्रालयमा राखिएको अबण्डा बजेट कहाँ खर्च गरिन्छ भन्ने प्रश्न गर्दै निजी क्षेत्रलाई आश्वस्त बनाएर अगाडि बढ्नुपर्ने, कृषि र स्वास्थ्य क्षेत्रमा चालु आवको तुलनामा बजेट घटाइएका गुनासो गरे । उनले हरेक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने उल्लेख गरिए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद विष्णुकुमारी सापकोटाले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नेगरी बजेटले विशेष ध्यान दिनुपर्ने, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले अर्थतन्त्रमा देखिएको शिथिलतालाई सम्बोधन गर्ने गरी बजेटमा विशेष प्रबन्ध गरिएको र विगतका सकारात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन् । उनले उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको तथ्य स्मरण गराइन्।

सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम बजेटमा छ कि छैन भन्ने प्रश्न गर्दै लैङ्गिक उत्तरदायी बजेट जरुरी रहेको बताइन् । ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल आगामी बैठकमा समेत जारी रहनेछ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्