Logo

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वोच्चको आदेशः ‘कास्की प्रहरीमा परेको जाहेरीको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुनु’



काठमाडौं, २० जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेसहितलाई विपक्षी बनाएर अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले १५ दिनभित्रमा कारणसहितको जवाफ पेश गर्न भनेको हो । सर्वोच्चले रिट निवेदकको मागदाबी बमोजिम अन्तरिम आदेश भने दिएन । सर्वोच्चले अन्तिरिम आदेशका सन्दर्भमा दुवै पक्षलाई राखेर छलफल गर्न उपयुक्त हुने भन्दै आगामी जेठ २८ गते छलफलका लागि बोलाएको छ ।

‘जाहेरीको व्यहोरा थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निश्कर्षमा पुग्न मनासिब हुने देखिएको र प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत विषयको सुनुवाइलाई अग्राधिकार दिई मिति २०८१/०२/२८ गतेका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च.नं. ३२७५ मिति २०८१/०१/२४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धि कसुरको द.नं. ०८०–८१–०४२६/१२९ मिति २०८०/१०/२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो व्यहोराको सूचना विपक्षीहरुलाई दिई नियमानुसार गर्नू,’– सर्वोच्चको आदेशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्