काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले नारायणहिटी दरबारमा रहेको गणतन्त्र स्तम्भ सर्वसाधरणका लागि खुल्ला गराउन माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र स्तम्भ निर्वामान भएको पाँच वर्ष भइसक्दा पनि ताला लगाएर राखिएको बताए ।
उक्त पार्क जनताका लागि तुरुन्त खुल्ला गरिनुपर्ने उनको माग छ । ‘नारायणहिटी दरबारमा रहेको गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष भइसक्यो । वर्षौंदेखि ताला लगाइराखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न तुरुन्त सुचारु गर्नका लागि म माग गर्दछु,’– उनले भने ।
उक्त काम नेपाल सरकारले गर्न नसकेको खण्डमा काठमाडौं महानगरपालिकालाई जिम्मा दिन पनि उनले अनुरोध गरे ।