Logo

गिरीबन्धुबारे बालेनलाई सोध्नुः केपी ओली



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच विवाद चुलिएको छ । काठमाडौं महानगर प्रमुख शाहले आज विहान एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा एक खर्ब (१० हजार करोड) भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

आज संसद् भवन परिषरमा सञ्चारकर्मीहरुले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धुबारे जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा ओलीले ‘बालेनलाई सोध्नु’ भन्दै पन्छिए ।

उसो त एमाले अध्यक्ष ओली लामो समयदेखि काठमाडौं महानगरका मेयर बालेनको विरुद्ध खनिँदै आएको थिए । बालेनले सुकुम्बासी र गरिबलाई देखिनसहेको भन्दै यसअघि ओलीले कडा आलोचना गरेका थिए । अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन भनेका थिए । उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनीसमेत दिएका थिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने उनको टिप्पाणी थियो ।

त्यस्तै, बालेनको निर्देशनमा काठमाडौं महानगरको गाडीले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । संघीय सरकारले विगत १५ वर्षदेखि कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक नबनाएर जनतालाई सास्ती दिएको बालेनको आरोप थियो । बालेनको उक्त कार्यविरुद्ध पनि ओली आलोचनामा उत्रिए । उनले आफ्नो घरको फोहोर छिमेकीको दैलोमा लगेर खसाल्नुलाई बहादुरी नभनिने भन्दै बालेनको आलोचना गरे ।

यसरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा वाकयुद्ध गरीरहेका ओलीविरुद्ध आज विहान बालेनले गिरीबन्धु अश्त्र प्रहार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्