काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले सिराहाको कमलादेखि विराटनगरसम्म सडक स्तरोन्नति गर्दा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैयाका सडकहरु खाल्डाखुल्डीले भरिएको विषयमा सरकारको ध्यानाकार्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महतोले महेन्द्र राजमार्र्गको स्तरोन्नतिको उक्त खण्डको निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको उल्लेख गर्दै अहिलेसम्म काम जस्ताको त्यस्तै रहेको भन्दै आपत्ति जनाए । उनले भने,‘यो परियोजना बनाउने काम १०औं वर्ष भैसकेको छ, अहिलेसम्म काम जस्ताको त्यस्तै छ । कामको प्रगति कछुवाको तालमा भैरहेको छ । चारैतिर खाल्डाखुल्डी बनाएर मिर्चैया बजारको मुख्य चोकमा अवस्था नाजुक छ । गर्मी याममा धुलोको कारण त्यहाँका स्थानीयवासी विरामी परेका छन् । अहिले वर्षा यामको समय सुरु भएको छ । सवारी आवागमन अस्तव्यस्त बनेको छ । अहिले बजारका सबै व्यापारी विस्थापित भएका छन् । अधिकांश सटरहरु बन्द भएका छन् ।’
पूर्वमन्त्रीसमेत रहेका नेता महतोले मिर्चैया बजारको बाटो सुचारु गर्नको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे । यस्तै, उनले सिराहा र धनुषाको कमला पुल दशौं वर्ष लगाएर निर्माण गरिएको र उद्घाटन पनि गरिएको तर हाल उक्त पुलको पिलर चर्किएको भन्दै सरकारको ध्यानाकार्षण गराए । यस्तै, उनले दशकौंदेखि सुन्दै आएको हुलाकी राजमार्गको निर्माण कार्यमा भएको सुस्तताको पनि कुरा उठाए ।