Logo

नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायको मुद्दा समावेश नभएको भन्दै सीडब्लूएनको आपत्ति



काठमाडौं, २७ जेठ । कास्ट वाच नेटवर्क (सीडब्लूएन) ले सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलितहरुको मुद्दा समावेश नभएको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सीडब्लूएनले नीति तथा कार्यक्रम र बजेटमा दलितलाई उपेक्षित गरिएको बताएको हो ।

सिडब्लुएनका केन्द्रीय अध्यक्ष डा.मित्र परियारले राज्यको उपेक्षाका कारण नेपालमा चरम जातीय विभेद जारी रहेको बताए । उनले भर्खरै केन्द्रीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदा दलितका मुद्दाहरु प्राथमिकतामा नपरेको बताए ।

सबैभन्दा बढी जातीय दमन र उत्पीडन भएको प्रदेश कर्णाली रहेको बताउँदै उनले प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा छुवाछुतको कुनै प्रसंग नै उल्लेख नगरेको बताए । कर्णाली प्रदेश प्रमुख परियारले दलित समुदायले भोग्नुपरेको विभेद र अन्यायमा आँखा चिम्लिएर बसेको उनको टिप्पणी छ ।

सीडब्लूएनका केन्द्रीय सदस्य वसन्त परियारले समाजबाट विभेद र छुवाछुत अन्त्य गराउन पुरोहितहरुलाई तालिम दिइनुपर्ने बताए । उनले मान्छे कोही जातको आधारमा सानो र ठूलो हुँदैन भन्ने चेतना फैलाउन आवश्यक रहेको बताए । उनले जातीय विभेद अन्त्य गर्न संविधान र कानुनलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने र धर्म, संस्कार र संस्कृतिमा सुधार हुनुपर्ने बताए ।

त्यसैगरी अर्का वक्ता दिपेश रत्नले दलितका नेताहरु पशुपतिमा छोडिएको साँढेजस्ता देखिन थालेको टिप्पणी गरे । सिंगो दलित समुदाय विभेदको चपेटामा पर्दा दलितहरुको नेता हुँ भन्नेहरुले कुनै सहयोग नगरेको उनको गुनासो छ ।

दलितबीचमा पनि माओवादी, एमाले र कांग्रेसको दलितमा विभाजन भएको उनले बताए । दलित हो भनेर दुखिरहेकाले सिडब्लूएनमा आउन उनले अपिल गरे । सिंगो दलित वर्गको उत्थानका लागि सीडब्लूएनमा जोडिन उनले आग्रह गरे ।

उनले हिजो माओवादीको सशस्त्र युद्धमा सबैभन्दा धेरै दलित वर्गले बलिदानी दिएको उनले स्मरण गराए । दलितहरुको बलिदानी र भोटबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि दलित समुदायको हक र हितमा कुनै काम नगरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्