काठमाडौं,२८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश भएको छ । बहसका क्रममा रिट निवेदनकर्ताले रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा गृहमन्त्री लामिछानेको नाम र उनले अपचलन गरेको रकमसमेत उल्लेख भएको दाबी गरेका थिए ।
बहसपछि न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सो अभियोग पत्र झिकाउने आदेश दिएको हो । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गरेका थिए ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको थियो । सो रिटमा सर्वोच्चले अर्को पेशी आगामी असार ४ गते तोकेको छ । सो दिन झिकाइएको मिसिल महान्यायाधिवक्ता कार्यालयमार्फत पेश गर्न भनिएको छ ।