काठमाडौं, जेठ ३० । दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । १ ख २७८३ नम्बरको बस गए राति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टले बताए । घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसीटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आज बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी छ । बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान खुल्न सकेको छैन ।