काठमाडौं, २६ असार । हेटौँडा उपमहानगरपालिका- १ की सर्मिला विक स्वरोजगार बन्ने सपना संगालीरहेकी हुन्थिन् । परिवारको आर्थिक अबस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिईन् । अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद् बागमतीले सञ्चालन गरेको ब्युटिशियन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ । पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ ।
जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर, चितवन राप्ती नगरपालिका वडानम्बर ९ की प्रेमा तामाङ्गलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डीङ्ग ईलेक्ट्रिशियन तालिम लिईन् । २० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भईन् । सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिकाकी शुशीला घले पनि प्लबिङ तालिम लिईरहेका २० जना सहभागी मध्ये एकमात्रै महिला हुन् । उनीहरु उत्साह पूर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उतीर्ण गरेका छन् । कृषि कर्ममा रुची भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौसमी तरकारी खेती सम्बन्धि तालिम लिएका प्रधानले गोलभेड, काक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मुल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ ।
स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखौं युवा रोजगारीका लागि बिदेशिएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद् बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीप मूलक तालिम प्रदान गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ का विकास घलान र बुद्धी बहादुर बोम्जनले अघिल्लो बर्ष नै बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन ब्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक २०८१/०८२ को बजेटमै युवा सीप बर्ष घोषणा गरेको छ । युवालाई दक्ष जनशक्तिका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ खर्च गरेको छ ।
तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए । यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भयो । कुक वेटर, हाउसकिपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाईनर, फर्निचर, प्लम्बिङ, बिल्डिङ ईलेक्ट्रिशियन, नर्सरी तथा गार्डेन ब्यवस्थापन, ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटीपार्लर, मोबाईल मर्मत, मोटरसाईकल मर्मत, मन्टेश्वरीलगायतका तालिममा सहभागी युवाहरु सीप सिकेर स्वरोजगार बन्ने वातावरण तयार भएकोमा उत्साहित छन् ।
हरिहरपुरगढी गाउँपालिका वडानम्बर ५का सुक बहादुर घलानले इलेक्ट्रिीशियन तालिम लिए । अब गाउँघरमै काम गरेर परिवार पाल्ने उनको योजना छ । सिन्धुली कमलामाई नगरपालिका वडानम्बर ३ की नेहा श्रेष्ठले बागमती प्रदेश युवा परिषद्बाट ब्युटीपार्लर लेभल वान तालिम लिएकी थिईन् । उनले पार्लर सञ्चालन गरिरहेकी छिन् । परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको छ । सीप सिकेका युवालाई पुँजीकै अभावमा काम गर्न असहज परिस्थिती सृजना नहोस् भन्दै उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि बागमती प्रदेश सरकारले टेवा पुँजी दिन ३ करोड बजेट छुट्याएको छ ।
सीप सिकेका युवालाई १५ हजार रुपैयाँदेखि २० रुपैयाँ उपलब्ध गराउन कार्यविधि बनाईएको छ । सीप परीक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसँग सम्झौता गरिसकेको प्रदेश युवा परिषद् बागमती उपाध्यक्ष सन्तोष चौलागाईले बताए । तालिम लिएका युवाको सीप परिक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।
सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीप युक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । यस्ता प्रकारका स्वरोजगारमूलक कार्यक्रमले युवा र राज्यबीच सुमधुर सम्बन्ध स्थापित भएको उपाध्यक्ष चौलागाईको भनाइ छ ।