काठमाडौं, २ असार । खानेपानीमन्त्री प्रदीप यादवसँग नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइससहितको प्रतिनिधि टोलीले शिष्टाचार भेटघाट गरेको छ । आज (बुधबार) मन्त्रालयमा एडीबीका कन्ट्री डाइरेक्टर कौकोइससहितको टोलीले मन्त्री यादवसँग शिष्टाचार भेटघाट गरेको हो ।
भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको बताइएको छ । साथै, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा विशेष छलफल भएको थियो ।
भेटघाटमा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाबारे विस्तृत छलफल भएको थियो । भेटघाटका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।