काठमाडौं, ३ साउन । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटमा राजदूत सोङ्ले मन्त्री सिंहलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका हुन् ।
उनीहरुबीचको भेटवार्तामा दुई देशबीच सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको भेटवार्तामा सहभागी मन्त्रालयका सचिव मणिराम गेलालले स्पष्ट पारेका छन् ।
भेटवार्ताबारे प्रकाश पार्दै सचिव गेलालले भने–‘भेटमा नेपाल र चीन बीचमा सहरी विकासको क्षेत्रमा कुन–कुन विषयमा सहकार्य हुनसक्छ, अहिले के भइरहेको छ भन्नेमा सामान्य समीक्षा भयो, हामीले स्मार्ट सिटी बनाउने भनेका छौं। स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौं, ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो।’