काठमाडौँ, ७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
जलस्रोत तथा सिँचाइ विभागले आज आयोजना गरेको ‘चौथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा बोल्दै उनले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “राष्ट्रिय गौरवका आयोजना भन्ने तर आयोजना सम्पन्न गर्न ३०÷३५ वर्ष लाग्ने ? गौरवको आयोजनालाई गौरवयोग्य बनाउनुपर्छ,” मन्त्री खड्काले भने ।
उनले धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए । मन्त्री खड्काले एउटै आयोजनामा तीनै तहको सरकारको बजेट पर्ने गरेको भन्दै त्यसो हुन नदिन अन्तरसरकारसँग सहकार्य गर्नुपर्ने बताए ।
उनले कर्मचारीलाई निर्भिक ढङ्गले इमान्दार भएर काम गर्न आग्रह गरे । “म दुर्घटना नगरी मन्त्रालयको ड्राइभिङ गर्छु । तपाईंहरु पाटपुर्जा ठीक ठाउँमा राख्नूहोस्,” मन्त्री खड्काले भने ।
उनले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताए । १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउन लागेको समय हेरेर आगामी योजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्न उनले आग्रह गरे ।
ऊर्जामन्त्री खड्काले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने बताए । हिमाल, पहाड र तराईमा सिँचाइको समस्या भिन्दाभिन्दै रहेकाले त्यसलाई सम्बोधन हुनेगरी विभागले काम गर्नुपर्ने मन्त्री खड्काले बताए ।
सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले चैते धानको उत्पादन बढाउन आवश्यक सिँचाइलाई विभागले प्राथमिकतामा राखेको बताए । उनले विभागको पहलमा हाल देशभर १५ लाख ६९ हजार हेक्टरमा सिँचाइ व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरे पनि अझै १० लाखभन्दा बढी हेक्टर जमीनमा सिँचाइका लागि पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
विभागले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत महाकाली सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइँ आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, सुनकोशी–मरिन डाइभर्सन आयोजना र रानी–जमरा–कुलरिया सिँचाइ आयोजनामार्फत देशभर दुई लाख ८७ हजार पाँच सय ८६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेगरी छ वटा आयोजना अगाडि बढाएको छ । File Photo/RN