काठमाडौं । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै काठमाडौंमा वर्षा भएको छ । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।
काठमाडौंको नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ । बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ । नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम बढेको छ ।