Logo

सचिव भट्टराईले पूर्वमुख्यमन्त्री कार्कीको नाममा अनर्गल प्रचार गरी सेवाग्राहीसँग कमिशन मागेको सचिवालयको आरोप



काठमाडौं,८ साउन । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको सचिवालयले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीसँग घुस मागेको आरोप लगाएको छ । पूर्वमुख्यमन्त्री कार्कीको समेत बदनाम गरेर घुस मागेकाले सचिव भट्टराईलाई सचेत गराइएको सचिवालको दाबी छ ।

पूर्व मुख्यमन्त्री कार्कीले कुटपिट गर्ने धम्की दिएको भन्दै सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग गर्दै उजुरी दिएका थिए । आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको सचिव भट्टराईले उजुरीमा उल्लेख गरेका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयले विज्ञप्ति जारी गर्दै सचिव भट्टराईले कार्कीविरूद्ध अनर्गल प्रचारको र सोही विषयमा सचेत गराइएको जानकारी गराएको छ । पूर्व मुख्यमन्त्री कार्कीको कार्यकालमा विराटनगरमा सम्पन्न विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधिको भुक्तानीका क्रममा सेवाग्राहीबाट कमिशन मागेको कार्कीको सचिवालयको आरोप छ । कूल रकम एक करोड ६६ लाख भुक्तानीका लागि सचिव भट्टराईले सेवाग्राहीबाट कमिशन मागेकोे र कमिशन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाडौं गएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ प्रेस विज्ञप्ती:

पूर्वमुख्यमन्त्री केदार कार्की ज्यूले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुट्ने धम्की दिएकाे विषयमा सञ्चारमाध्यममा आएकाे समाचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे छ ।

पूर्वमुख्यमन्त्री कार्की ज्यूकाे कार्यकालमा विराटनगरमा सम्पन्न विराट गाेल्डकप र काेशी प्रदेशस्तरीय क्रिकेट प्रतियाेगिता लगायतका खेलकुद गतिविधिकाे भुक्तानीका लागि बजेट रकमान्तर गराइ मन्त्रिपरिषद्काे निर्णय गरि भुक्तानी दिने तयारी सचिव ज्यूले स्वयं गर्नुभएकाे अवगत गराउन चाहन्छु ।

सचिवज्यूले रकम भुक्तानीकाे मन्त्रिपरिषद् निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयकाे सहमतिसमेत लिनुभयाे । त्यसपछि सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएकाे एक कराेड ६६ लाख रकमबाट मुख्यमन्त्रीकाे नाममा समेत सेवाग्राहीबाट कमिशन मागेका थिए । तर कमिशन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाडाैं जानुभएकाे र लामाे समय विदामा बसेकाे अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासाे गरिरहनुभएकाे अवगत गराउन चाहन्छु । साेही समयमा पूर्वमुख्यमन्त्री कार्की सरकारबाट हट्नु भयाे । तर विराटगाेल्ड कप, क्रिकेट आयाेजक समितिलगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नु भएकाे कमिशन रकम नदिनुभएकाेले बजेट निकास नभएकाे भन्दै बदनाम गराउने मन्सायले अनर्गल कुप्रचार गराइरहेकाे सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्की ज्यूले २०८१ साउन ७ गते साेमबार सचिव भट्टराईलाई फाेन गरेर सचेत गराएकाे स्पष्ट पार्न चाहन्छु ।

इमान्दारितापूर्वक कर्तव्यनिष्ठ भएर काम गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हताेत्साहित हुनेगरि सञ्चारमाध्यममा आएकाे समाचारमा कुनै सत्यता नभएकाे स्पष्ट पार्न चाहन्छु । सम्पूर्ण राष्ट्रसेवक कर्मचारीकाे हकहितकाे लागि र निर्भयपूर्वक काम गर्ने वातावरण बनाइराख्न प्रतिबद्ध रहेकाे सबैमा जानकारीका लागि अनुराेध छ ।

दिवश राजबंशी

स्वकिय स्वकीय(पूर्वमुख्यमन्त्री केदार कार्की)



प्रतिक्रिया दिनुहोस्