काठमाडौं,१३ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटना नभएर हत्या भएको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै संसद्को अन्तराष्ट्रि सम्बन्ध तथा पर्यटन समितिको सभापतिसमेत रहेका यादवले बिग्रिएको विमान परिक्षणका लागि लगिँदा त्यति धेरै व्यक्तिलाई लगिएको भन्दै आपत्ति जनाए । ‘दुर्घटना हो कि हत्या हो ? त्यो दुर्घटना सामान्य होइन । ‘सी’ चेकका लागि काठमाडौंमा नै व्यवस्था भएको भए सायद दुर्घटना हुँदैनथ्यो होला । ‘सी’ चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न पाइँदैन । त्यसमा १९ जना कसरी अनबोर्ड भयो ? त्यसको जिम्मेवारी कसले लिने ?,” उनले प्रश्न गरे ।
उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे ।
यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्मा लुकाइएको भन्दै आपत्ति जनाए ।