काठमाडौं, १४ साउन । परराष्ट्रविद् प्रा.डा. लोकराज बरालले चीनको परियोजना बीआरआई ऋाणमा लिन नहुनेबारे परराष्ट्रमन्त्री डा. आरजुर राणाले लिएको अडान उचित रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
बीआरआई परराष्ट्रमन्त्री डा. राणाले संसदीय समितिमा गएर अहिले यो परियोजना अगाडि बढ्दैन भनेर दिएको स्टेटमेन्ट ठीक रहेको उनको प्रतिक्रिया छ ।उनले भने,‘उहाँले ठीक भन्नुभयो । यसबारेमा नेपाल सरकारले जे निर्णय लिएको हो, त्यही भन्नुभयो । नेपाल सरकारले त आफ्नो पोजिसन लिएको छ । लोन हो भने हामी लिदैनौं भनेको छ । ब्याज तिर्न सक्दैनौं भनेको छ । तर, अनुदान हो भने लिन्छौं भनेको छ ।’
उनले आफ्नो व्यक्तिगत सुझाव भन्दै चीनको बीआरआई अनुदानमा भएमात्रै लिनुपर्ने र ऋणमा लिन नहुने बताए । फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई बलियो प्रधानमन्त्री नलागेको बताए । हिजो नेकपाकालमा दुई तिहाईको बहुमतनजिक हुँदापनि बलियो नभएकोले अहिले कांग्रेसको टेको समातेर प्रधानमन्त्री बनेकोले बलियो नलागेको उनको स्पष्टोक्ति थियो ।
उनले विगतको अभ्यास र घट्नाक्रम हेर्दा प्रधानमन्त्रीको रुपमा ओलीले कांग्रेससँग भएको सहमतिअनुसारको अवधिपनि सरकारको नेतृत्व गर्ने अवस्था नभएको दाबी गरे ।