Logo

राजमार्गका होटल : यात्रुलाई बासी खानेकुरा बिक्री गरेपछि दुई लाख जरिवाना



काठमाडौं, साउन १५ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ ।

बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ,’ उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो ।

‘फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ, बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ ।

समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताए । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उनले जानकारी दिए ।

जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्