काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।
हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतीजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए । ४८ प्रतिशत, ५१ प्रतिशत हुँदै उत्तीर्ण दर ५२ प्रतिशत पुगेका बताउँदै उनले सन्तुष्ट हुनसक्ने अवस्था भने नरहेको बताए । ‘यसआधारमा म यसलाई नराम्रो भन्दिँन । तर, ५२ प्रतिशत रिजल्टलाई राम्रो भन्ने स्थिति पनि छैन,’– उनले भने ।
साथै, उनले एकपटक फेल भएको विद्यार्थी पछिल्लो वर्षमा पास हुन धेरै गाह्रो रहेको बताउँदै दुई विषयमा फेल भएका विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने गरी व्यवस्था गर्नुपर्ने बताए । एसईईमा फेल भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुने व्यवस्था मिलाइएको विषयतर्फ केन्द्रीत हुँदै उनले अब कक्षा १२ फेल भएका करिब ४७ प्रतिशत विद्यार्थीले पनि सो माग राख्नसक्ने बताए ।
कक्षा १२ पनि विद्यालय शिक्षामै समावेश रहेको बताउँदै उनले विद्यार्थीले एसईईको पुरक परीक्षामा किन गर्यौ त ? भन्ने प्रश्न आएमा सम्बन्धित निकायले जवाफ दिनुपर्ने बताए । अध्यक्ष सिलवालले नतिजा कमजोर हुनुमा शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, राज्य सबै सरोकारवाला निकाय जिम्मेवार रहेको बताए । उनले सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा पढाउने शिक्षकको दरबन्दी, भौतिक पूर्वाधार, सेवा सुविधाहरुको कमी रहेको उनले बताए ।
साथै, शिक्षा क्षेत्रमा रिवार्ड एण्ड पनिसमेन्टको व्यवस्था नगरेसम्म नतिजा नसुध्रिने उनको भनाइ छ । ‘हामीले हिजोदेखि के भन्दै आयौं भने– शिक्षकको स्थायित्व भयो भने सुध्रिन्छ । २० प्रतिशत शिक्षामा बजेट विनियोजन गर्याैं भने सुध्रिन्छ । हामीले मानसिकता परिवर्तन नगरी शिक्षामा सुधार आउँदैन । शिक्षामा रिवार्ड एण्ड पनिसमेन्ट के गर्ने ? शिक्षामा योग्य मानिसहरुको आकर्षणका लागि के गर्ने ? र शिक्षण पेशालाई सम्मानित पेशा कसरी बनाउने भन्नेतर्फ ध्यान दिनुपर्छ,’– उनले भने ।