Logo

‘एमालेसँग मिल्दामात्रै राष्ट्रवादी छवि बनाउन सकिँदोरहेछ भनेर प्रचण्ड आउनुभयो’



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको कुरै नसुन्ने र आफूखुसी गर्न थालेपछि कांग्रेससँग सहकार्य सुरु गरेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डले आफूलाई मन नपरेको कुरा कुनै पनि नगर्ने र फेरि पनि एमालेलाई धोका दिने स्थिति बनेपछि समग्र मुलुकको हितको निमित्त कांग्रेस–एमालेको सहकार्य अगाडि बढेको बताएका हुन् ।

साथै, उनले तत्कालीन प्रधानमन्त्री प्रचण्ड एमालेसँग नमिली राष्ट्रिय छविको नेता बन्न नसकिने रहेछ भन्दै बालकोट पुगेको पनि बताए । प्रचण्डले एमालेसँग मिलेर आफ्नो छवि सुधार्न चाहेको बताइसकेपछि आफूहरुले पत्याएको पनि उनले सुनाए । एमालेसँग मिलेर सरकार बनाएसँगै ३/४ महिनामै प्रचण्डले छनकमनक देखाउन थालेको उनले टिप्पणी गरे ।

कांग्रेससँगको सहकार्य तोडेर एमाले–माओवादीको सरकार बन्नुअघिको प्रसंग सुनाउँदै नेता बस्नेतले भने, ‘प्रचण्डसँगको सहकार्य राजनीतिक स्थिरताको लागि साधक बन्छ कि भन्ने लागेको थियो । प्रचण्डको बुद्धि पलायो कि भन्ने लागेको थियो । उहाँले वार्ताको क्रममा दुई वटा कुरा भन्नुभएको थियो– एमालेभित्र मिल्दा पनि झगडा गर्दा पनि केपी ओलीसँगै गर्नुपर्ने रहेछ । एमाले खोज्न पनि केपी ओली नै खोज्नुपर्ने रहेछ । मैले मिस्टेकले झलनाथ, माधव नेपालतिर खोजेछु । त्यो मेरो मिस्टेक हो । त्यही भएर म तपाईँसँग मिल्न आएँ भन्नुभएको थियो । दोस्रो कुरा उहाँले मैले १० वर्ष युद्ध गरेँ । म राष्ट्रवादी छवि बनाउन चाहन्थेँ, क्रान्तिकारी छवि बनाउन चाहन्थेँ । तर, सत्ता लिप्सामा म यतिधेरै घुसेँ, यतिधेरै शक्तिहरुसँग सहकार्य गरेँ । म राष्ट्रघाती अपराधीजस्तो मेरो छवि बन्न गयो । अब म एमालेसँग सहकार्य गरेर मेरो छवि सुधार्न चाहन्छु । एमालेसँग मिल्दामात्रै म राष्ट्रवादी हुँदोरहेछु भन्ने ढंगले कुरा गरिसकेपछि हामीले कुरा पत्याइदिएका थियो । तर, सरकार गठन भएको ३/४ महिनामै उहाँले छनकमनकहरु देखाउन थालेपछि उहाँले एकाएक हाम्रो अध्यक्षज्यूलाई फेरि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्नु्भयो । कांग्रेससँग फेरि म ५/६ महिनामा आउँछु है भन्नुभएको रहेछ ।’

अहिले कांग्रेस–एमालेबीच भएका सहमतिहरु निकै सौहार्द रहेको पनि उनले सुनाए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषदपछि वर्तमान सरकारले एकै पटक मन्त्रिपरिषद् गठन गरेको उनले बताए । आफूहरुले संविधान संशोधन र राजनीतिक स्थिरताको कुरा उठाइरहेको बताए । एमाले–कांग्रेसले समानुपातिक समावेशीलाई ध्वस्त पार्न लागे भनेर अहिले लागिरहेको आरोप गलत रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्