Logo

हामी विविधतापूर्ण नेपाललाई विविधतामै फूलाउन चाहन्छौंः मन्त्री पाण्डे



काठमाडौं, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले नेपाललाई विविधतामै फूल्न र फल्न दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समावेशितालाई प्रवेश गराएर देशले सही ट्याक पक्रिसकेको बताए । उनले अब संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरु आफूले बनाएको बाटोमा सही तरिकाले हिँड्नुपर्ने बताए ।

‘विशेष गरी हामीले सही ट्याक पक्रिसकेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समावेशितासमेतलाई हामीले प्रवेश गराएर सही गन्तव्य पक्रिसकेका छौं । विविधतापूर्ण नेपालाई विविधतामा मै फूलाउन चाहन्छौं, फलाउन चाहन्छौं र माथि उठाउन चाहन्छौं भन्ने कुराको हामी सिद्धान्त पक्रिसकेका छौं, बाटो पक्रिसकेका छौं । अब हाम्रो काम के हो भने यो बाटोमा यात्रा गर्ने हामी यात्रीहरु चाहे प्रधानमन्त्री हुनुहोस्, चाहे हामी मन्त्रीहरु हौं, प्रदेश सभाहरु हुन्, प्रदेश सरकार होस् अथवा स्थानीय सरकार होस् । हामी जो कोही हुन्, अगाडि बढिसकेको बाटोमा हामी कति योग्यतापूर्वक हिड्छौं । हामीले बनाएको बाटोमा सही ढङ्गले यात्रा गर्ने काम हाम्रो नै हो । अरु कसैको होईन । हाम्रो बाटोमा अरु कोही आएर यात्रा गरिदिँदैन,’– उनले भने ।

साथै, उनले आदिवासी जनजातिहरुको अधिकार स्थापित गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको प्रसंग उल्लेख गर्दै उनले बढ्दो विकृति र विसंगति रोक्ने प्रयास भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्