Logo

विश्वविद्यालय समन्वय समितिद्वारा नवनियुक्त भीसीहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त



काठमाडौं, २ भदौ । विश्वविद्यालय समन्वय समितिले छ वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । समन्वय समितिले भर्चुअल बैठकमार्फत योगमाया आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा.अर्जुनकुमार कार्की, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराल, सुदूरपश्चिम विश्ववद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुबकुमार गौतम, पूर्वाञ्चलय विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियालाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना ज्ञापन गरेको हो ।

भर्चुअल बैठकमार्फत कार्यकाल सफलताको शुभकामना कार्यक्रममा उपस्थिति भएका सब अतिथिहरुलाई विश्वविद्यालय समन्वय समितिका सदस्य तथा उपप्रा.मुकुन्दप्रसाद शर्माले कार्यक्रमबारे समग्र विषयमा जानकारी गराएका थिए । विश्वविद्यायल समन्वय समितिको तर्फबाट स्वागत मन्तव्य उपप्रा.डा. दिपकचन्द्र भट्ट, उपप्रा. रामप्रसाद कडेल र उपप्रा. शंकरप्रसाद दाहालले राखेका थिए ।

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा.भारती जोशीले बजारमा प्रतिस्प्रर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि सबै निकायहरुबाट आवश्यक पहल गर्नुका साथै हाल खुलेका सबै विश्वविद्यायलहरुलाई यथास्थानमै राख्नुपर्ने बताईन् । यदि यस्तो कार्यमा कहिकतैबाट अवरोध हुने संकेत पाएमा सबै एकजुट भएर अघि बढनुपर्ने उनको सुझाव थियो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले हाल नवनियुक्त सवै अध्यक्ष एवंम् उपकुलपतिहरुको कार्यकालमा विश्वविद्यालयहरुले थप प्रगति गर्न सकोस् भनी शुभकामना व्यक्त गरे । उनले यसका लागि विश्वविद्यालय अनुदान आयोगको निरन्तर साथ र समर्थन रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले हालसम्म खुलेका सबै विश्वविद्यालयहरु जुन ऐनको आधारमा स्थापना भएका हुन सोहीअनुसार नै सञ्चालन हुनेपर्ने बताए । उनले विश्वविद्यालयबीच एक आपसमा सहयोगको निरन्तरता अझ बढाउदै जानुपर्ने पनि बताए ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाज्यूले सबै विश्वविद्यालयमा फरक–फरक किसिमको क्षमता भएकाले ज्ञानको आदानप्रदान गर्नुका साथै नेपाल सरकारबाट विश्वविद्यायललाई सक्षम बनाउन थप आवश्यक पहल गर्नुपर्ने राय व्यक्त गरे ।

राजर्षिजनक विश्वविद्यालयका आदरणीय उपकुलपति प्रा.डा.अमरप्रसाद यादवले सबै विश्वविद्यालयमा रहेको क्षमता आदानप्रदान गर्नुका साथै विद्यमान समस्याको व्यवस्थाका लागि सबै मिलेर जानुपर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजु थपलियाले हाल खुलेका विश्वविद्यालयहरु संघीय सरकारके मातहतमा नै रहनुपर्ने र विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबै मिलेर समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुबकुमार गौतमले विश्वविद्यालयलाई क्षमतावानहरुको केन्द्र र सक्षम जनशक्ति उत्पादनमा केन्द्र बनाइ सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

सुदूरपश्चिम विश्ववद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले विश्वविद्याल निश्चित भूगोलमा मात्र संचालन हुन नहुने बताए । उनले दायरा बढाएर अनुसन्धान र सहकार्यमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

योगमाया आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा.अर्जुनकुमार कार्कीलेविश्वविद्यालयहरुमा समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले हाल जुन ऐनको आधारमा विश्वविद्यायलहरु खुलेका छन् सोही अवस्थामा रहिरहनुपर्ने बताए । साथै विश्वविद्यालयको कुनै निश्चित भूगोल नहुने र विश्वमा विश्वविद्यालयहरु आफ्‌नो दक्षताको आधारमा सञ्चालन‌मा रहेको उनले बताए । आगामी दिनहरुमा पनि विश्वविद्यालयहरुबीच निरन्तररुपले समन्वय भइराख्नुपर्ने उनको भनाइ थियो । उनले विश्वविद्यालय समन्वय समितिले गरेको कार्य र पहल निकै उदाहरणीय रहेको बताए ।

कार्यक्रमको प्राविधिक सहयोग उपप्रा.पञ्चदेव भट्टले गरेका थिए भने समन्वय उप प्रा.शिशिर कुमार शर्मालगायत विश्वविद्यालय समन्वय समितिका सबै पदाधिकारीले गरेकाथिए । कार्यक्रम सञ्चालन विश्वविद्यालय समन्वय समितिका संयोजक सह प्रा.डा. दीपकराज जोशीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्