Logo

लिग लिगर चेल्सीसँग म्यानचेस्टर सिटी पराजित



काठमाडौं, २४ चैत । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको हो ।

लिग लिडर चेल्सीलाई घरेलु मैदानमा  भएको खेलमा जित दिलाउन दुवै गोल इडन हजार्डले गरे । म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले एक गोल फर्काए । दुवै तर्फबाट पहिलो हाफमा नै गोल भएको हो ।

१० औं मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । तर २६ औं मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल फर्काए । ३५ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले गोल गर्ने राम्रो मौका पाए पनि गर्न सकेन । त्यसपछि चेल्सी २–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको चेल्सीको ३० खेलबाट ७२ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ६५ अंक छ ।

चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५८ अंक छ । यही सिजन क्लबको जिम्मेवारी सम्हालेका पेप गार्डिवलाका लागि यो पहिलो सिजन हो, जसमा एकै लिगमा एउटै टिमसँग होम र अवे दुवै मैदानमा पराजित भएको । चेल्सीसँग घरेलु मैदानमा पनि सिटी पराजित भएको थियो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्