गुलरिया (बर्दिया), २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ ।
आज सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “मुलुक निर्वाचनमा होमिइसकेको छ । अब बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन ।” उहाँले निर्वाचन तोकिएकै मितिमा गरेरै छाड्ने बताउनुभयो ।
“निर्वाचनको बहिष्कार गर्नु भनेको नेपाली जनतालाई अधिकारबाट वञ्चित गर्नु हो, जनताको अधिकार सुनिश्चित गर्न निर्वाचन बहिष्कारको कुरा गर्नु उपयुक्त हुँदैन,” अध्यक्ष थापाले भन्नुभयो ।
सिंहदरबारमा रहेको अधिकार अब जनताको घरदैलोमै पुग्ने भएकाले सबै जनतालाई निर्वाचनमा भाग लिन उहाँले आग्रह गर्नुभयो । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष थापाको भनाइ थियो । उहाँले निर्वाचन बहिष्कार गर्ने निर्णयबारे पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
केही दल जातजाति, भाषा, भूगोलजस्ता विषयलाई लिएर नेपाली जनताबीचको एकतालाई भाँड्न लागिपरेकाले सबै सचेत हुनुपर्नेमा थापाले जोड दिनुभयो ।
भेरी अञ्चलस्तरीय भेलालाई राप्रकाका महामन्त्री धवलशम्शेर राणा, केन्द्रीय सदस्यहरु फत्तेसिंह थारु, कुन्ती शाही, कोमल वलीलगायतले सम्बोधन गर्नुभएको थियो । रासस