भक्तपुर, ४ वैशाख । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताउनुभएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उहाँले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताउनुभएको हो ।
सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल रु एक लाख दिँदै आएको छ ।
मन्त्री थापाले भन्नुभयो – “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पु¥याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छाँै, अर्थमन्त्रालयले यसलाई स्वीकृत ग¥यो भने यो सहयोग बिरामीले पाउनेछन् ।”
सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उहाँले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताउनुभयो ।
“कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा सुविधालाई प्रभावकारी र सुदृढ गर्न काम गरिरहेका छौँ”, मन्त्री थापाले भन्नुभयो – “औषधि पनि सस्तो गर्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक सङ्कट उत्पन्न भइ गरिबी बढने अवस्था रोक्न सकिन्छ ।”
उपचारका लागि अब काठमाडौँ नै धाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले जिल्ला जिल्लाका अस्पतालको सेवा, सुविधा र गुणस्तरीयतामा वृद्धि गर्न लागेको बताउँदै उहाँले भन्नुभयो – “गङ्गालाल अस्पताल काठमाडौँमा छ तर गङ्गालालको सेवा भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दिने गरी सेवा सुरु गरेको छाँै, जनकपुर अञ्चल अस्पतालबाट पनि यो सेवाका लागि प्रारम्भिक काम गरेका छौँ, क्यान्सर रोगको सेवा दिन गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगन्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छाँै, पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छाँै ।”
सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको छ भन्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्ने, बलियो बनाउने र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार रु पाँच लाखभन्दा कममै हुनसक्ने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कानुनसहितको प्रस्ताव आगामी ७ गते बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्री थापाले मन्त्रिपरिषद्ले यसलाई पारित गरेलगत्तै पूर्वाधारको विकासमा लाग्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य लागू हुने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो – “स्वास्थ्य बिमा लागू भएपछि प्रिमियम पनि तिर्न नसक्ने अतिविपन्न नागरिकको प्रिमियम सरकारले तिर्छ, बाँकी सबैले परिवारकै बिमा गर्नुपर्छ, त्यसपछि उपचारका लागि मलाई रु एक लाख, रु दुई लाख देउ भन्ने अवस्था आउँदैन, उपचार बिमाले गर्छ ।”
कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु चार करोड सहयोग पु¥याउने काठमाडाँै बागबजार निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।
रु चार करोड ८० लाखको लागतमा निर्माण भएको भवनका लागि थप रु ८० लाख भने विभिन्न दाताबाट सङ्कलन गरिएको थियो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाशराज न्यौपानेले १५ शै्यया र १५ कर्मचारीबाट सुरु भएको यो अस्पताल अहिले १५० शै्ययामा विस्तार भएको र २०० कर्मचारीले एकवर्षमा ६० हजारसम्म बिरामीलाई सेवा दिँदै आएको बताउनुभयो ।
अहिले पनि ४० प्रतिशत विपन्न बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालमा आवश्यक केही पूर्वाधारको विकास र उपकरणका लागि सरकारले सहयोग गरे क्यान्सरको सम्पूर्ण उपचार यहीबाट गर्न सकिने उहाँले बताउनुभयो ।
अनुदान बृद्धि र प्रविधिमा सहयोग भए सरकारले तोकेको शुल्कभन्दा पनि कम शुल्कमा सेवा सकिने मेडिकल डाइरेक्टर डा न्यौपानेले दाबी गर्नुभयो । रासस