काठमाडौँ, १२ बैशाख । स्थानीय तहको निर्वाचन आउन १९ दिन बाँकी छँदा उम्मेदवार छनोट, प्रचारप्रसार, निर्वाचन अधिकृतको व्यवस्थाजस्ता कामले गाउँ र नगरको चहलपहल तीव्र हुन थालेको छ ।
माओवादीद्वारा उम्मेदवार सिफारिस
दार्चुला– नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला कमिटीले यहाँका दुई नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखको नामावली प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
उक्त दलका इन्चार्ज मानबहादुर धामीले प्रदेश नं ७ को कमिटीलाई दार्चुलाबाट उम्मेदवारको नामावली सिफारिस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शैल्यशिखर नगरपालिकाको प्रमुखमा मोहनदेव विष्ट र उपप्रमुखमा लक्ष्मी लुहारको नाम सिफारिस गरिएको छ । सिफारिस हुनुभएका विष्टले केही समयअघि क्याम्पस प्रमुखबाट राजीनामा दिनुभएको छ ।
त्यसैगरी महाकाली नगरपालिकाको प्रमुखमा खडकसिंह धामीको नाम सिफारिस गरिएको तर उपप्रमुखको सिफारिस गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
निर्वाचनका लागि कर्मचारी अपुग
रसुवा– स्थानीय तहको निर्वाचनका लागि मापदण्ड बमोजिम कर्मचारी अपुग हुनेभएको छ ।
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गत ३ वैशाखबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएपनि निर्वाचनसम्बन्धी कामका लागि मापदण्ड अनुसारका कर्मचारीे नपुग हुने देखिएको हो ।
जिल्लाका पाँचवटा गाउँपालिकामा रहने निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्न, उत्तरगया गाउँपालिकामा विनिता भट्टराई, पार्वतीकुण्डमा विश्ववन्धु पौडेल, नौकुण्डमा अशोकराज रेग्मी, कालिका गापामा सन्तोषकुमार गिरी निर्वाचन अधिकृतका रुपमा आ–आफ्नो कार्यक्षेत्रमा खटिसक्नुभएको र गोसाइँकुण्ड गाउँपालिकाको हकमा धुन्चेस्थित मुख्य निर्वाचन अधिकृतको मातहतबाट कार्यसम्पादन गरिने सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।
रसुवामा ३४ स्थानमा ४२ मतदान केन्द्रबाट २७ हजार ७५६ मतदाताका लागि २५० भन्दा बढी कर्मचारी मतदान केन्द्रमा परिचालित हुने जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो भने यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइसकिएको प्रहरी प्रमुख फणीन्द्र प्रसाइँले जानकारी दिनुभयो ।
बेनी प्रमुखमा उम्मेदवार सिफारिस
म्याग्दी– नेपाली काँग्रेस बेनी नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा जिल्ला सचिव हरिकुमार श्रेष्ठलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।
काँग्रेस पदाधिकारीको सोमबार सम्पन्न बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।
बेनी नगरापलिकामा एमालेले पनि छिट्टै उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ । एमालेले आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठ, मोर्चा प्रमुख राजकुमार थापा र प्रचार विभाग प्रमुख सुरत केसीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । (माओवादी केन्द्र) पनि नगरकमिटी अध्यक्ष शेरबहादुर केसी र म्याग्दी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापामध्ये एकजनालाई उम्मेदवार बनाउने तय गरेको जनाएको छ ।
कुनै सुविधा लिन्नः पुन
म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारको सिफारिसमा पर्नुभएका क्याप्टेन डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताउनुभएको छ ।
चुनावी अभियानका क्रममा गाउँपालिका अन्तर्गत दोसल्लेमा आयोजित सभालाई आज सम्बोधन गर्दै पुनले यस्तो घोषणा गर्नुभएको हो । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय सैनिक पुनले समाजसेवा र अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि आफू राजनीतिमा होमिएको बताउनुभयो ।
आमसभामा उहाँले भन्नुभयो, “म राजनीतिमा सरकारी सेवा सुविधा प्रयोग गर्नआएको होइन । गाउँपालिका प्रमुखलाई के–कस्तो सुविधा हुन्छ, मलाई थाहा छैन तर, जेजति हुन्छ, त्यो सबै जनतालाई नै दिनेछु’’ । रासस