काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।
मंगलबार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको गोरखा महाभुकम्पको दोस्रो वार्षिकीको अवस्थामा धुर्मुस–सुन्तलीलाई क्लबका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले अभिनन्दन गरेका हुन् ।
केही समयपछि एउटा अभियानको घोषणा गर्ने
कार्यक्रममा अभिनन्दित भएपछि आफ्नो भनाई राख्दै सिताराम कट्टेल(धुर्मुस)ले महाभुकम्प गएको दुई वर्ष वितिसक्दापनि भुकम्प प्रभावित जिल्लाहरुको पूननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरे ।
उनले भने,‘पूर्ननिर्माणको लागि ठूला–ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूर्ननिर्माणको काममा गति लिन सकेन, अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भिर बन्नुपर्छ ।’
विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि महाभुकम्पलाई अवसरमा परिणत गर्न सक्नुपर्दथ्यो भन्दै यो मामिलामा सरकार चुकेको हो कि भन्ने धारणा उनको थियो । उनले भने,‘हामीले भारतको गुजरात देखेका थियौं, आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पूर्ननिर्माणको लागि दरिलो नीति ल्याउनुपर्दथ्यो ।’
उनले पूर्ननिर्माणको लागि बनेको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत बढि राजनीतिकरण भएको भन्दै गुनासो पोखे । उनले भने,‘कहिले सिईओ परिवर्तन गर्ने काम भए, पीडितको नाममा राजनीति हुनुहुँदैन्थ्यो ।’ पूर्ननिर्माणको लागि प्राधिकरणलाई विभिन्न मन्त्रालयहरुसँग समन्वय गर्नुपर्ने झन्झट रहेकोले सरकारले पूर्ननिर्माण मन्त्रालय छुट्टै गठन गरेर काम गर्न सक्नुपर्नेथियो भन्दै स्मरण गराए । उनले थपे,‘प्राधिकरणलाईपनि त्यही मन्त्रालय अन्र्तगर्त चलाएको भएपनि भैहाल्थ्यो।’
धुर्मुसले आफूहरुको अभियानपनि सरकारलाई सहयोग गर्ने रहेको बताए । उनले भने,‘पूर्ननिर्माणको लागि रकेटको स्पिडमा काम गरेका छौं, जे बोल्छौं, त्यो पूरा गरेरमात्रै छोडछौं ।’ आफूहरुलाई पनि शुरुवातमा चर्चाको लागि धुर्मुस सुन्तलीले यस्तो काम गर्न लागेको हो कि भनेर कुरा बाहिर आएपनि कहिल्यै नहारिकन अभियानमा जुटेको स्मरण सुनाए ।
उनले पार्टीको झण्डाभन्दापनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे । उनले सगरमाथा र गौतम बुद्धको कारण नेपालमा पर्यटक आउने गरेको उल्लेख गर्दै पूर्ननिर्माणको लहर देशैभरि ल्याउन सकेको भए सुन्दर/सुन्दर नयाँ संरचना हेर्न पर्यटकहरु आउने थिए भन्दै यतातर्फ कसैको ध्यान नगएको हो कि भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेपनि आफूहरुलाई जिम्मा दिए एकवर्षदेखि डेढवर्षभित्रमा भुकम्प प्रभावित सबै जिल्लामा पूर्ननिर्माण गरेर देखाउने विश्वास व्यक्त गरे ।
नेपालमा अर्काको कुरा काट्ने मानिसहरु धेरै भएको उल्लेख गर्दै भने,‘कुरा काट्नुपर्यो भने हामी आफ्नै श्रीमतिको कुरा काट्नपनि पछि पर्दैनौं, त्यतिमात्रै होईन, हामी नेपाली पशुको पनि कुरा काट्न छोड्दैनौं ।’ उनले आफूहरुलाई पनि भुकम्पले सिकाएको भन्दै आगामी दिनमा पनि धेरै कामहरु गर्ने सपना रहेकोले केही समयपछि एउटा अभियानको घोषणा गर्ने जानकारी दिए । राष्ट्र निर्माणमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै त्यतातिर ध्यानदिन धुर्मुसले अपिल गरे ।