Logo

फिफाद्धारा मेसीको प्रतिबन्ध फुकुवा



काठमाडौँ, २२ वैशाख । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको निलम्बनलाई फिफाले फिर्ता लिएको छ।

गत मार्चमा चिलीलाई १–० ले हराएको खेलमा मेसीलाई रेफ्रिमाथि खराब शब्द प्रयोग गरेको आरोपमा ४ खेलमा निलम्बन गरिएको थियो।

अर्जेन्टिना फुटबल संघ र मेसीको अपीलपछि फिफाले उनको ४ खेल निलम्बनको निर्णय फिर्ता लिएको हो। निलम्बनका कारण उनले विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको एक खेल खेल्न पाएका थिएनन्।

बोलिभियाविरुद्ध खेल सुरु हुनुभन्दा साढे ५ घण्टाअघि मात्र उनलाई ४ खेलमा निलम्बन गर्ने निर्णय फिफाले गरेको थियो। त्यतिबेला उनको खेल हेर्न बोलिभियाको ला पेजमा समर्थकको भीड लागेको थियो। त्यो खेल अर्जेन्टिनाले २–० ले गुमाएको थियो। यो नतिजापछि अर्जेन्टिनाको विश्व कप छनोटको योजनामा गम्भीर धक्का लागेको छ।

विश्व कप छनोटमा हाल अर्जेन्टिना पाँचौं स्थानमा छ। दक्षिण अमेरिकी छनोटमा शीर्ष ४ स्थान ओगट्ने टिमले शिधै विश्व कप खेल्न पाउने प्रावधान छ। पाँचौ स्थानको टिमले प्लेअफ खेल्नु पर्नेछ।

भिडियो फुटेजमा उनले रेफ्रिसँग बहस गरेको देखिए पनि खराब शब्द प्रयोग गरेको प्रमाणित नभएको बताइएको छ। फिफाले उनको निलम्बन फिर्ता लिएपछि अब उनी उरुग्वेविरुद्ध आगामी खेलका लागि उपलब्ध हुनेछन्। अर्जेन्टिनाले विश्व कप छनोटअन्तर्गत उरुग्वे, भेनेजुएला र पेरुसँग खेल्दै छ।

उनी माथि लागेको ७ हजार ८ सय स्टर्लिङ पाउण्डको जरिवाना पनि नलाग्ने भएको छ। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot