अबको राजनीति आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने : सिंह


काठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनको काम पूरा भएकाले अब आर्थिक समृद्धिको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो –“आर्थिक समृद्धिको मुद्दामा अबको राजनीति केन्द्रित हुनुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले संविधानको स्वीकार्यतालाई विस्तार गरी साझा दस्तावेज बनाउन लागेको बताउनुभयो ।

तीन तहको निर्वाचन सम्पन्न गरी पूर्णरुपमा संविधान कार्यान्वयन गराउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँले भन्नुभयो ।

सांसद अम्बिका बस्नेतले शैलजा आचार्य उपप्रधानमन्त्री भएका बेलामा जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा जनाएको प्रतिबद्धता अनुसार विसं २०५४ को स्थानीय निकाय निर्वाचनमा एक वडाबाट एक महिला प्रतिनिधि निर्वाचित भएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका तर्फबाट नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारद्वय सन्तोष चालिसे र शान्ति नेपाललगायत वक्ताले शान्ति सुरक्षा, फोहर मैला व्यवस्थापनलगायत नगरको समग्र विकासका लागि पार्टीले उम्मेद्वारी दर्ता गराएको बताउनुभयो ।

कार्यक्रममा गायकद्वय राजेन्द्र भण्डारी र छिरिङ शेर्पाले साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो । रासस