Logo

प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते बेलुका राजिनामा गर्ने मन्त्री खड्काको खुलासा



काठमाडौ., २ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क छौं, हाम्रो पार्टी नै पहिलो पार्टी हुन्छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले मतपरिणाम आउने क्रम जारी अवस्थामा प्रारम्भिक नतिजाले नै काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । उनले भने,‘अहिले ३८ प्रतिशत देशको भुभागमा चुनाव भएको छ, अझै ६२ प्रतिशत भुभागमा चुनाव हुन बाँकी छ, हामी पहिलो चरणको निर्वाचनमा पनि पहिलो बन्छा ’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खड्काले काँग्रेस देश र जनताप्रति जिम्मेवार पार्टी भएकोले यो चुनावमा जनता र व्यवस्थाले जित्नुपर्ने बताए । उनले भने,‘काँग्रेस जिम्मेवार पार्टी हो, हामी व्यवस्था र जनताले जित्नुपर्छ भन्छौं।’ उनले जनताले जितेमात्रै काँग्रेसको र व्यवस्थाको नै जित हुने स्पष्ट पारे । मन्त्री खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले बोलेको कुरा पूरा गरेको भन्दै प्रंशसाका साथै बधाई दिए ।

मन्त्री खड्काले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई लिएर विभिन्न टिकाटिप्पणी भएकोप्रति स्पष्ट पार्दै भने,‘यो गठबन्धन संविधान रक्षाको लागि हो, व्यवस्था रक्षा गर्नको लागि हो।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संविधानको वाहक भएको बताउँदै एमालेले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको माँग गर्ने राप्रपासँग तालमेल गरेको चाहीँ बरु आफूहरुलाई शंका लागेको बताए ।

उनले भने,‘एमालेले राप्रपासँग तालमेल गर्न पाउँछ, प्रजातन्त्रको व्यूटी नै अलाईनमेन्टपनि हो, तर यो तालमेलमा हामीलाई शंका छ।’ राजनीतिक दलहरुवीच तालमेल हुनु, गठबन्धन हुनु स्वभाविक भएपनि राप्रपासँगको एमालेको तालमेलले कहीँ लोकतन्त्रै नै खतरामा पर्ने होईन भन्ने आफूहरुलाई शंका रहेको मन्त्री खड्काले स्पष्ट पारे ।

यद्धपी उनले काँग्रेस र माओवादी केन्द्रवीचको गठबन्धन विभिन्न संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि अपरिहार्य रहेको जिकिर गरे । उनले भने,‘नेपाली काँग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनमा लडेको पहिलो शक्ति हो, ०७ सालदेखि काँग्रेसले नै परिवर्तनको लागि लडाई लड्यो, विभिन्न आन्दोलनको नेतृत्व लियो, माओवादीले पनि परिवर्तनको लागि नेतृत्व लिएको छ।’ उनले काँग्रेस र माओवादी केन्द्रवीचको तालमेल निकै लामो समयसम्म जाने विश्वास व्यक्त गर्दै आफूहरुले पनि नेतृत्वलाई यही दबाब दिएको स्पष्ट पारे ।

मन्त्री खड्काले दोस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालेपनि सहभागिता लिने विश्वास व्यक्त गरे । यही जेठ ४ गते संसद बैठक बस्ने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यही दिन बेलुका राजिनामा गर्ने र सत्ता देउवालाई हस्तान्तरण गर्ने पनि मन्त्री खड्काले जानकारी दिए । उनले काँग्रेस सभापति देउवा दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बन्ने निश्चित भएकोले संविधान संशोधन दुई तिहाईले पारित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यसबारेमा अहिले काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु बसेर छलफल गरिरहनुभएको छ।’

खड्काले मुलुकको आर्थिक सम्मुनतिको लागि पनि काँग्रेस र माओवादी केन्द्रवीचको तालमेल अलिक लामै समयसम्म जाने स्पष्ट पारे । उनले थपे,‘अन्य पार्टीहरुसँग पनि हामी हातेमालेो गरेर अघि बढ्छौं।’

मन्त्री खड्काले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने समेत स्पष्ट पारे । यद्धपी उनले बजेट नियमित प्रक्रिया भएकोले बजेट के गर्ने भन्नेबारे सहमतिमा निर्णय लिईने तर तोकिएकै मितिमा दोस्रो चरणको निर्वाचन हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot