Logo

बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम



विराटनगर, ३ जेठ । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ ।
मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने विधिबारे र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । यस जिल्लाका १७ वटा निकायमा १८ पटकसम्म ‘जेठ ३१ गते भ्याँउदिन, भोट हाल्न जान्छु’ शीर्षकको नाटक गुरुकुल आरोहणद्वारा नृत्य मञ्चन गरिएको हो ।

करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ ।

सो नृत्य कार्यक्रमप्रति जनतामा आकर्षण देखिएपछि सुनसरीका १२ वटै निकायमा र झापाका तीनवटा निकायमा समेत सो नाटक मञ्चन गरिएको हो ।

यसका साथै सो नाटक सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म मञ्चन हुने सो कार्यालयका प्रमुख सञ्जेलले थप्नुभयो । २०७० सालको संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लामा बढी ध्यान केन्द्रित गरिएको बताइएको छ ।

जेठ ३१ गते हुन गइरहेको निर्वाचनका लागि जेठ ५ गतेदेखि पुनः जिल्लाको प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु हुने भएको छ । प्रत्येक वडा कार्यालयका प्रमुख मतदाता शिक्षा सुपरीवेक्षकको रुपमा रहेका छन् र जिल्लाका १७ वटा स्थानीय निकायका १५९ वटा वडाका लागि ६४० जना मतदाता शिक्षा कार्यकर्ता खटाउन लागिएको छ ।

प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएको समाचार प्रसारित भइरहेकाले अब थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले जानकारी गराउनुभयो ।

यसैबीच, रङ्गेलीमा गत आइतबार ‘नमुना मतदान अभ्यास’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजका विभिन्न वर्गका २० जनाले मतदान गरेकामा एउटा पनि मत बदर नभए पनि मतपत्र पट्याउनमा अधिकांशले गल्ती गरेको देखिएको प्रमुख सञ्जेलले जानकारी गराउँदै जेठ ५ गते विराटनगरको गुदरीमा पनि सो अभ्यास कार्यक्रम गर्न लागिएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot