Logo

चितवन र आसपासका क्षेत्रमा दुई वर्षदेखि रेडियो नेपालको प्रसारण बन्द



चितवन, ४ जेठ । देशभर आफ्नो पहुँच विस्तार गर्दै गएको रेडियो नेपालको प्रसारण जिल्लावासीले भूकम्प गएयता सुन्न पाएका छैनन् ।

सरकारको स्वामित्वको रेडियो भएकाले सरकारी गतिविधिसहित आधिकारिक समाचारका लागि दुई वर्षअघिसम्म यस क्षेत्रमा रेडियो नेपाल लोकप्रिय मानिन्थ्यो ।

तत्कालीन भरतपुर नगरपालिकाको कार्यालयमा राखिएको रेडियो नेपालको टावर भूकम्पपछि हटाएसँगै यो क्षेत्र रेडियो नेपालको पहुँचविहीन भएको हो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ठाउँको अभावमा रेडियो सञ्चालन गर्न नसकिएको बताउनुभयो । सरकारी ठाउँ पाएमा रेडियो पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो ।

रेडियो नेपालको केन्द्रीय र क्षेत्रीय प्रसारण गरी २८ स्थानबाट हाल प्रसारण भइरहेको उहाँले बताउनुभयो । चितवनजस्तो जनघनत्व रहेको महत्वपूर्ण जिल्लामा रेडियो नेपालको प्रसारण सुन्न नपाउनु दुखद भएको स्थानीयवासीको भनाइ छ ।

निर्वाचनको समयमा अन्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्नखाले समाचार आइरहे पनि आधिकारिक समाचारका लागि विश्वसनीय मानिँदै आएको रेडियो नेपालको खोजी सर्वत्र भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्