रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो उनलाई ।
तत्कालीन मओवादी सशस्त्र द्वन्द्वका वेला गाउँमा माओवादीले घरेलु उद्योग सञ्चालन गरेका थिए । त्यही उद्योगमा तालिम गर्ने व्यवस्था मिलाइ दिए उनको एक आफन्तीले । माओवादी छापामारका कपडा सिलाउन थालिन उनले । कही समय त्यहाँ काम सिकेपछि उनी माडिचौर आएर सिलाइ पसल खोलिन् । करिब दुई वर्ष माडिचौरमै सिलाइ पसल गरेकी उनी अहिले आएर सदरमुकाममा नै व्यवस्थित ढङ्गले पसल सञ्चालन गरेकि छिन् ।
आजभोलि उनी कपडा सिलाउनमै व्यस्त हुन्छिन् । त्यसैवाट मासिक रु ३० हजार आम्दानी गर्ने उनी त्यही कमाईबाट छोरालाई बोर्डिङमा पढाउँदै आएकी छिन् । आत्मनिर्भर भएपछि अर्की श्रीमती टिपेर हिँडेको श्रीमान् र घरमा बस्न नदिने सासूसमेत बेला बेला भेट्न आउने गरेको उनी बताउँछिन् ।
श्रीमान्ले गाडी चलाउने पेसा अपनाए पछि आफू पनि स्वरोजगार हुने विचारले तालावाङ –५ रोल्पाकी प्रेमकुमारी कँुवर सिलाइकटाइ तालिम लिन काठमाडौँ गईन् । रु ६० हजार खर्च गरेर ६ महिना सीप सिकेपछि उनी पुनः रोल्पा फर्किइन् । सदरमुकाम लिवाङमा सिलाइ पसल सञ्चालन गरेर बसेकी उनी अचेल मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दैआएकी छिन् ।
श्रीमान् श्रीमती दुबै स्वरोजार हँुदा जीविकोपार्जनमा सहज भएको छ । दुई छोरा निजी विद्यालयमा पढाउँदै आएकी उनले भविष्यमा छोराहरुलाई ठूलो मान्छे बनाउने सङ्कल्प लिएकी छिन् ।
त्यसैगरी तीन वर्षदेखि निरन्तर सिलाइकटाइ गर्दै आएकी रोल्पा जङकोटकी कमला ओलीले पनि यो व्यवसायबाट मासिक रु ३० हजार भन्दा बढी कमाइ गर्दै आएको छिन् ।
घरको दैनिकी काम सकेर बाँकी समय उनी सिलाई पसलमा काम गर्छिन् । नाबालक बच्चासँगै पेसा गर्ने धेरै महिलाको बाध्यता जस्तै कमलाले पनि बच्चा स्याहार्दै सिलाइकटाइ गर्ने गर्छिन् । आत्मनिर्भरताका कारण कसैबाट अपहेलित हुनपरेको छैन, ओलीले भनिन् ।
रोल्पा जिल्लामा यसरी सिलाइकटाइ गरेर स्वरोजगार हुने महिलाको सङ्ख्या १५० भन्दा बढी रहेको जनाएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने तथा जोखिम पनि नहुने भएका कारण जिल्लामा यस पेसाप्रति महिलाको आकर्षण बढ्दै गएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।
महिलाको माग नै सिलाइकटाइमा अधिक हुने भएकाले कार्यालयले हरेक वर्ष सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो । रोल्पाली सिलाइकटाइ प्रशिक्षण केन्द्रका सञ्चालक मनबहादुर नेपालीले बर्सेनि जिल्लामा विभिन्न सङ्घ संस्थाको सहयोगमा यस्तो तालिम आयोजना हुने गरेको बताउनुभयो । हरेक वर्ष झन्डै दुई सय जति प्रशिक्षार्थीले यो तालिम लिँदै आएको उहाँले बताउनुभयो ।
विगतमा सिलाइकटाइमा पुरुषको एकाधिकार भएकोमा पछिल्लो समयमा यसप्रति महिलाको आकर्षण बढ्दो छ । सशस्त्र द्वन्द्वका वेला आफ्नो श्रीमान् गुमाएका तथा अन्य कारणले एकल भएका महिलासमेत यस पेसाबाट आम्दानी गर्न सफल भएको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । श्रीमान्को मृत्युपछि जीवनको साहारा गुमाएका उनीहरुलाई सिलाइकटाइ पेसा नै साहारा हुनपुगेको आचार्यले बताउनुभयो ।
जिल्लामा पुरुष वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहको बेला महिला स्वरोजगार हुने गरी गरेको पेसालाई धेरैले प्रशंसा गरेका छन् । रासस