Logo

दोस्रो चरणको निर्वाचन : विराटनगरमा चुनावी चहलपहल तीव्र



 

विराटनगर, ११ जेठ । दोस्रो चरणको निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चहलपहल तीव्र भएको छ ।

पूर्वाञ्चलकै केन्द्रविन्दुका रुपमा रहेको विराटनगर महानगरपालिको निर्वाचनका लागि मुख्य राजनीतिक दलमा नेपाली काँग्रेस र नेकपा (एमाले) आधिकारिक रुपमा आजसम्म उम्मेदवारका नामावली सार्वजनिक नगरेकाले ती पार्टीबाट प्रमुख र उपप्रमुखमा को को उम्मेदवार हुने भन्ने विषय यतिखेर सर्वसाधारणको चासोको विषय बनेको छ ।

नेकपा (माओवादी केन्द्र)ले करिब एक महिना पहिले नै आफ्ना उम्मेदवारका नाम सार्वजनिक गरिसकेको छ । सो पार्टीले प्रमुखमा भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्योपानेलाई अघि बढाएको छ ।

काँग्रेस र एमालेले चाँडै नै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारीमा लागेका छन् । यी दुई पार्टीका साथै राप्रपालगायतका पार्टीमा कतिपयले प्रमुख र उपप्रमुखका लागि आवेदन पेस नगरेकाले अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक नभएको हो ।

मधेसवादी दलहरुमा राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले चुनावमा सहभागी हुने कि नहुने विषयमा सर्वसाधारणमा चर्चाको विषय बनेको छ ।

यो निर्वाचन सम्पन्न भएपछि बढीमा नौ महिनाभित्रै सङ्घीय प्रदेश र संसद्को निर्वाचन हुने भएकाले स्थानीय तहको निर्वाचनको अत्यधिक प्रभाव ती दुई निर्वाचनमा पर्ने सम्भावनालाई मध्यनजर गर्दै सबै दलले आ–आफ्ना उम्मेदवारलाई जिताउनका लागि पार्टीगत आधारमा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

विराटनगर महानगरपालिकाको नगरप्रमुखको पदका लागि काँग्रेसका आधा दर्जनभन्दा बढीले आफ्ना इच्छा सार्वजनिक गरेका छन् । सोमध्ये काँग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला मोरङ जिल्ला सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुलीका साथै राजु थापा, गीता आचार्य, मनोज बस्नेत, नारायणबाबु कार्की र पूmलकुमार लालवानीलगायतका नाम चर्चामा छ ।

नेकपा (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पार्टीका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी, सागर थापा, बाबुराम कार्की र भगवान थापाको नाम चर्चामा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पूर्वनगरप्रमुख प्रह्लाद साह, दुर्गा अधिकारी र दिनेश साहलगायतका नाम चर्चामा छन् । रासस



प्रतिक्रिया दिनुहोस्