Logo

गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्डमा यात्रुको निधन



रसुवा, १२ जेठ । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ ।

प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी खटाइएको प्रहरी प्रमख प्रसाईंले बताउनुभयो ।

कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ ।

आजदेखि सुरु भएको गोसाइँकुण्ड मेला २१ गतेसम्म चल्ने, गङ्गादशहरा पर्वको पहिलो दिन सयौँ यात्रुले कुण्डमा स्नान गरेको र भक्तजनको ओहरदोहर भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्