काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सबैसँगको सहकार्यमा महानगरको सम्पूर्ण काम गरिने बताउनुभएको छ ।
करिब दुई हप्तादेखि जारी मतगणना परिणाम आज बिहान सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दौ नेकपा(एमाले)बाट महानगर प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्य र नेपाली काँग्रसका तर्फबाट उपप्रमुखमा विजयी हरिप्रभा खड्कीले आगामी दिनमा सम्पूर्ण काम सहकार्यमा नै गरिने बताउनुभएको हो । शाक्यले भन्नुभयो, “मेरो पाँचवर्षीय कार्यकाल सिङ्गो महानगरको संमृद्धिका लागि केन्द्रित रहने छ ।”
शाक्य ६४ हजार ९१३ तथा खड्गी ५८ हजार ९५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै आज बिहान भएको मत परिणामानुसार महानगरपालिका वडा नं १६ का वडाध्यक्षमा काँगेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ । उहाँले चार हजार ३९९ मत पा्रप्त गर्नुभएको छ ।
त्यसैगरी महिला सदस्यमा एमालेका कल्पनाकुमारी श्रेष्ठ चार हजार ७१२ र दलित महिला सदस्यमा एमालेको बबि परियार चार हजार ८१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । खुला सदस्यतर्फ एमालेका जीवन मानन्धरले चार हजार २८६ र एमालेकै पुष्प महर्जनले चार हजार १८९ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । रासस