गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १४ जेठ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाउनुभयो । त्यसपछि उहाँले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गर्नुभयो ।
सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको पहिलो भनाइ छ – “पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उहाँले बाख्रापालन २०७० को असारमा सुरु गर्नुभएको हो । बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उहाँको भनाइ छ ।
अहिले सुवेदीको गोठमा एक सय बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उहाँलाई हम्मे–हम्मे छ । जन्मिनेबित्तिकै ‘बुक’ हुन्छ – फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भन्नुभयो – “दुई बिगाहा जग्गामा धानखेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाउनुभएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताउनुभयो ।
आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उहाँहरूले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाउनुभएको छ । तीन वर्षको अवधिमा बाख्रापालनमा उहाँको रु १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उहाँले झन्डै वार्षिक रु १६ लाख आम्दानी लिइसक्नुभएको छ । एक सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिनुभएका सुवेदी भन्नुहुन्छ – “अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै रु पाँच लाखभन्दा धेरै हुन्छ । व्यवसाय गर्न छिमेकी गाविस व्यरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको रु दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गर्नुभएका सुवेदी आगामी दिनमा मासुका लागि खसी पनि पाल्ने सोचाइमा हुनुहुन्छ ।
बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उहाँले बताउनुभयो । श्वाससहितको बोका प्रतिकेजी रु एक हजार र पाठी प्रतिकेजी रु ७००का दरले बिक्री गरिरहनुभएका सुवेदी आफ्नै गाउँमा अझै ८÷१० वटा फार्म सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । तीन महिनाको बोको २०÷२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतयाः रु २० हजार पर्छ । उहाँले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै भन्नुभयो ।
मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोय भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बाल सूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आय आर्जनमा लगानी भएको बताउनुभयो । भण्डारीका अनुसार संस्थाले गाईभैँसीपालन, कुखुरापालन, बङ्गुरपालन, व्यापार र घरेलु उद्योगमा रु ४० लाख लगानी गरेको छ । उहाँले सबै सेयर सदस्यले लगानीलाई आय आर्जनमा परिचालन गरेको बताउनुभयो । रासस