Logo

सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता



रत्ननगर (चितवन), १४ जेठ । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् ।

सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले सौराहाको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नारायण वनले पहाडी क्षेत्रमा लुकाको पर्यटकीय क्षेत्र सिंराइचुली, उपरदाङगढी, शक्तिखोरलगायत क्षेत्रसँग सौराहाको पर्यटन जोड्नुपर्ने बताउनुभयो ।

उहाँले आगामी वर्ष सञ्चालन हुन लागेको पर्यटन वर्ष र नमस्ने नेपाल अभियानलाई प्रभावकारी बनाउन आफ्नो ध्यान जाने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख विमला दवाडीले सौराहाको पहिचानलाई जोगाउँदै विकासमा आफू सक्रिय भएर लाग्ने प्रतिक्रिया दिनुभयो ।

चितवनको सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । चितवनको सौराहामा हाल ११० भन्दा बढी सुविधायुक्त होटल छन् भने ६० भन्दा बढी रेस्टुरेन्ट छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।

सो क्रममा नवनिर्वाचित प्रतिनिधिहरुलाई सौराहाका पर्यटन व्यवसायीले पर्यटन विकासमा लाग्न भन्दै ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित अध्यक्ष बलराम दाहालले सौराहा आफैँमा विश्वकै परिचित पर्यटकीय नगरी भएकाले पहिचानलाई उच्च राख्दै पूर्वाधार विकासमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रत्ननगरको वडा नं ६ मा सौराहा पर्छ ।

यस्तै वडा नं ७ का अध्यक्ष लालबहादुर भट्ट, राजनले पर्यटन क्षेत्रको विस्तार र विविधिकरण आवश्यक भएको भन्दै सबै क्षेत्रको सहकार्यबाट अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले नवनिर्वाचित जनप्रतिनिधिहरुले पर्यटन विकासका लागि काम गर्ने बेला आएको भन्दै यहाँका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सौराहा जेसिजका अध्यक्ष सूर्यबहादुर तामाङले व्यक्तिको नभई विधिको शासन भयो भने विकासले फड्को मार्ने भन्दै जननिर्वाचित प्रतिनिधिलाई यसतर्फ गम्भीर भएर लाग्न आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot