Logo

“अब म प्रधानमन्त्री बन्छु र नेपाललाई हिन्दू राज्य बनाउछुू” : डा. शशांक कोइराला (भिडियोसहित)



सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् । त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । संविधान कार्यान्वयन गर्नको लागि प्रमुख दलहरुवीच सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व भने कांग्रेसले नै गर्नुपर्ने कोइरालाको भनाई छ । महामन्त्री कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुन्छ त?

हुन्छ ।

त्यो आधार छ तपाईसँग ? राजनीति तलमाथि हुँदैन ? 

किन नहुने ? प्रधानमन्त्री प्रचण्डजीले राजीनामा दिईसक्नुभएको छ । उहाँले बाटो स्पष्ट पार्नु भएको स्थितिमा काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेमा शंका नै भएन नि ।

उसो भए शेर बहादुर देउवा प्रधानमन्त्री हुनेमा विश्वस्त हुुनहुन्छ ?

एकदम् विश्वस्त छु ।

एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ भनिरहेको छ नि ?

राष्ट्रिय सरकारको पक्षमा त म पनि पक्षमा छु । तर सक्ने प्रयास गर्ने हो । एमालेलाई पनि काँग्रेसको लिडमा सरकारमा लैजाने प्रयास रहेको छ।

यदि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने हो भने प्रधानमन्त्री को बन्ने ? केपी ओली कि, प्रचण्ड कि, शेर बहादुर देउवा कि?

त्यसमा त दुईमत नै छैन्। शेरबहादुर देउवा बन्नुहुन्छ नि । तलमाथि हुँदैन ।

एमाले काँग्रेसको नेतृत्वको सरकारमा आउला त ?

आउनपर्छ। संविधानको कार्यान्वयन गर्नको लागि पनि एमाले सरकारमा आउनुपर्छ । मुख्य तीनवटै दल मिलेर संविधान ल्याएको हो । अहिले समस्यालाई समाधान दिनको लागि एमाले गम्भिर बन्नुपर्छ ।

काँग्रेसको गल्तिका कारण राष्ट्रिय सहमतिको सरकार निर्माण नभएको ईतिहाँस छ नि ?

ठीक हो । केही गल्ती भएका हुन् । म स्विकार गर्छु ।

स्व.सुशिल कोईरालालाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाउनु गल्ति थियो ?

केही हदमा तपाईले भनेको सही छ।

काँग्रेसभित्र देउवाबाहेक अरु कोही प्रधानमन्त्री हुन योग्य नेता छैनन् ?

विकल्प छन् तर संसदीय दलको नेता, पार्टी सभापति देउवा हुुनुहुन्छ त्यसैले पनि उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।

विकल्पको कुरा गर्दाखेरी कसको नाम लिनुहुन्छ ?

रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँ वरिष्ठ नेता हुनुहुन्छ । उहाँ पनि बन्न सक्नुहुन्छ । यो प्रश्न सभापतिसँग सोध्नुपर्ने हो ।

यस अघिको ईतिहास हेर्दा प्रधानमन्त्रीको लागि विवाद भएको देखिन्छ नि ?

त्या पनि सही नै हो ।
केन्द्रीय समितिले सभापति देउवाको नाम सिफारिस गर्छ त ?

हुन्छ ।
उसो भए प्रधानमन्त्रीको लागि रामचन्द्र पौडेलको दाबी रहँदैन ?

रहँदैन।

तपाई चाहि के गर्नुहुन्छ ?

मैले सबैलाई भन्नुपर्यो । सरकार निर्माणमा साथ दिनुपर्यो ।

तपाईमा प्रधानमन्त्री बन्ने चाहना छैन् ?

अहिले नै समय आएको छैन् । आउँदा दिनहरूमा हेरौला । धेरै दिन छन् नि । प्रधानमन्त्री बन्न त्यति सजिलो छैन् ।

कोईराला परिवारमा प्रधानमन्त्री बन्ने पालो अब तपाईको हो ?

मेरो नै हो भनेर त भन्दिन । बेला आएको खण्डमा बनिएला पनि । पालो नै हेर्ने हो भने मेरै हो जस्तो लाग्छ । कोईरालाको कुरा गर्ने हो भने, शेखर, सुजाता हुनुहुन्छ । उहाँ झन उप–प्रधानमन्त्री भैसक्नु भएको व्यक्ति पनि हो । तर संगठनका हिसावमा हेर्ने हो भने पालो मेरै हो जस्तो लाग्छ ।

कोईराला परिवारभित्र अबको प्रधानमन्त्रीको लागि योग्य नेता तपाई नै हो ?

पहिले त म प्रधानमन्त्री बन्नुपर्छ भन्नेमा छैन् । त्यो अबसर आएको खण्डमा म नै हुँ भन्छु । काँग्रेस र मुलुकको विकास गर्ने, यति धेरै सम्भावना र अथाह स्रोत भएको भूमिमा धेरै गर्न सकिन्छ ।

प्रधानमन्त्री नभएर यो काम कसरी सम्भव छ र ?

तपाईले भनेको पनि ठिक हो । आफै भएको खण्डमा सजिलो होला तर अरुलाई साथ दिनु पनि त कर्तव्य हो नि ।

काँग्रेसको ईतिहास हेर्दा आन्तरिक द्धन्द्धमा फसेको छ नि ?

केही हदसम्म म पनि नि दोषी छु । अब बिस्तारै यसको समाधान हुन्छ ।

पछिल्लो समयमा तपाई स्वयम पार्टी सभापति देउवाको विपक्षमा उभिनुभयो नि ?

म विपक्षमा होईन। उहाँका कार्यहरुमा साथ दिने मान्छे हो ।

तपाईलाई रामचन्द्र पौडेलको पक्षधर नेता भनेर चिन्छन् नि ?

पार्टीभित्रको आन्तरिक कुरा हो । त्यस्तो देखिएको मात्र हो ।

सभापतिको विपक्षि भेलामा तपाईको उपस्थिति रहन्छ नि ? महामन्त्रीको हैसियतले यसो गर्न मिल्छ ?

मिल्दैन । मैले अघि पनि भनें, पार्टीलाई एकतावद्ध बनाउने काम हो ।

आज तपाईलाई गुटको नेता भनेर चिन्न थालिसके काँग्रेस कार्यकर्ताले ?

होईन । त्यस्तो होइन । देउवाजी सभापति भैसकेपछि हामीले यसलाई अन्त्य गर्नुपर्छ । विपिदेखि अहिलेसम्म आउँदाखेरी काँग्रेसको आन्तरिक द्धन्द्धले निक्कै असर पारेको छ । त्यसैले पनि यसको अन्त्य हुन जरुरी छ ।

काँग्रेस भित्रको विवाद कहिले अन्त्य हुन्छ ?

आउँदो अधिवेशनभन्दा पहिले यो कुनैपनि अस्त्र बाँकि राख्नुहुँदैन ।

उम्मेदवारको मुद्धामा काँग्रेसका कति गुट छन् भन्ने कुरा प्रष्टै छ नि ? कम्तीमा पनि ५ देखि माथि गुट छन् ?

त्यहि त गलत छ ।

काँग्रेसभित्र काँग्रेसको हैसियतमा टिकट पाउँदैनन् । किन यो गुटको मानिुस हो भनेर पाउँछन् ?

यो कुरा सही हो । कसैले पनि व्यक्तिगत रुपमा नहेरिकन सिङ्गो पार्टीको हितहुने काम गर्नतर्फ लाग्नुपर्छ । मिलनको संस्कार, पार्टीभित्र संस्कारको थालनी हुनुपर्यो ।

अबका दिनमा महामन्त्री शशांक कोईरालालाई यो गुटको नेता होईन भनेर चिनाउँने आधार के छ ?

म कुनै पनि गुटको नेता होईन । म काँग्रेसको सिपाही हुँ।

अबका दिनमा रामचन्द्र पौडेलले बोलाएको वैठकमा जानु हुँदैन ?

होईन । उहाँ हाम्रो पार्टीेको वरिष्ठ नेता हो । जानुपर्छ । उहाँको आग्रहलाई नसुन्ने भन्ने हुँदैन।

पार्टी कार्यालय हुदाँहुँदै किन जानुपर्यो नि ?

सभापति र वरिष्ठ नेताले बोलाएको खण्डमा जानुपर्छ ।

महामन्त्रीजस्तो मानिसले कुनै एउटा नेताले बोलाएको बैठकमा गएर कुरा काट्नु वा आलोचना गर्नु उचित हो ?

कसैको आलोचना गरेको छैन् । गर्नुपनि हुँदैन ।

आईजिपिको निर्णयमा तपाईले सभापतिको विपक्षमा आफूलाई उभ्याउनुभएको होईन ? महाअभियोग, त्यसैगरि राजदुत नियूक्तिमा विपक्षमा उभ्याउनु भएको होईन ?

आफ्नो मनभित्रका कुराहरू स्पष्ट नराख्नाले यस्तो भएको हो । एकले अर्कोको विश्वास गर्दैनौ ।

यो अविश्वासको भूमरिमा काँग्रेस कहिलेसम्म रहन्छ ?

अब हामीले यसको अन्त्य गर्नुपर्छ ।

काँग्रेसले कार्य समिति पुरा छैन नि ?

ठिक भन्नु भयो । मैले यो कुरा गरेको छु । पार्टी सभापतिले यसको बारेमा काम गर्नु भएको छैन् । पछिपछि भन्नु भएको छ । उहाँ आफै पनि व्यस्त हुनुहुन्छ। पहिलो निर्वाचन पछि सबै कार्यन्वयन हुन्छ। काम गर्नुहुन्छ ।

पार्टीको पूर्णतामा भागवण्डा हुँदैन ?

हुँदैन । गर्नु हुँदैन । शेर बहादुर देउवा जी ले घोषणा गर्नुपर्छ ।

अब निर्वाचनको कुरा गरौ, निर्वाचन सर्यो नि ?

मधेशवादी मोर्चालाई निर्वाचनमा जानको लागि प्रयास गरिएको छ। अब मोर्चा निर्वाचनमा जानुको विकल्प छैन् ।

कुनै पनि हालतमा माग पुरा नभएको खण्डमा निर्वाचनमा जादैनौ भनेको छ नि ?

हामीले त्यहि कारण संसदमा निर्वाचन सारेको छौँ । उहाँहरू आउनु हुन्छ।

आजको दिनमा मधेश माईनस गरेर अघि जान सकिन्छ ?

सकिदैन ।

संविधान संशोधन गर्न सक्नु भएन ?

हामी गम्भिरताका साथ लागि रहेका छौँ। कसरी मुलुक राजनीतिक स्थिरता तर्फजान्छ ? कसरी यसको उपचार हुन्छ। प्रतिपक्षलाई मनाउँनु पर्यो ।

दुईतिहाई नभएको बेला कसरी संशोधन हुन्छ त ?

त्यहि त हामीले प्रयास गर्ने हो । मधेशवादी दलले पनि हाम्रो प्रयास देख्छ नि ।

काँग्रेसले कुरा मात्र गर्छ काम गर्दैन भनेर भन्छान् मोर्चाका नेता ?

त्यसो होईन ।

एमालेलाई विश्वासमा ल्याउन सक्नु भएन नि ?

उहाँको आफै धारणा छ । हामीले परामर्श गर्नुपर्छ ।मुलुक अफ्टयारोमा छ । यसलाई समाधान गर्नको लागि एमाले पनि गम्भिर हुनुपर्छ । काँग्रेस मियो बन्नुपर्छ । संविधान पारित गर्नको लागि प्रयास गर्नुपर्छ ।

यथास्थितिमा नािर्वचनमा भाग लिदैनौ भनेर भनेको छ नि ?

काग्रेसले प्रयास गर्छ ।

दोस्रो चरणको निर्वाचन नहुने संकेत देखियो नि ?

हामीले निर्वाचन गर्नैपर्छ ।

मधेशवादी मोर्चा निर्वाचनमा नआएको खण्डमा निर्वाचन हुन्छ ?

मलाई लाग्दैन।

काँग्रेसको नेतृत्वले दोस्रो चरणको निर्वाचन गर्न सकेन भने के हुन्छ ?

गलत म्यासेज जान्छ । त्यसैले त सबैलाई मिलाएर जानुपर्छ भनिरहेका छौँ। मुख्यदलका बीचमा सहमति हुनुपर्छ ।

स्थानीय तहको संख्या थप्ने कार्य अदालतले रोकिदियो नि ?

मेधेशवादी नेता र जनताले बुझ्नु पर्यो नि ।

जनसंख्याको आधारमा स्थानीय तहको संख्या निधारण हुनुपर्छ भनेका छन् ?

त्यहि त अदालतले रोकेको स्थितिमा छ । मधेशवादी दलका नेता र जनतालाई थाह भएको विषय पनि हो ।मधेशी जनता निर्वाचनमा जान चाहन्छन् तर नेता चाहिरहेका छैनन् । राजनीतिमा दृढ शक्ति र स्पष्ट भिजन भएको खण्डमा सबै थोक सम्भव हुन्छ ।

शेर बहादुर देउवाले सक्नु हुन्छ ?

सक्नुहुन्छ ।

हिन्दुराष्ट्रको वकालत गर्ने नेता हो, आज तपाईको मुद्धा कता गयो ?

हो । यो मुद्धामा जनमत संग्रह गर्नुपर्छ । काँग्रेसको बिधानमा पनि धर्म स्वतन्त्रताको पक्षबाट टाढा छ । जनमत संग्रह गर्दाखेरी पार्टी संलग्न हुनुहुँदैन।

नेपाल हिन्दुराष्ट्र कायम हुनसक्छ ?

सक्छ ।

कति वर्ष लाग्ला ?

०७५/ ०७६ साल भित्र हिन्दुराष्ट्र बन्छ भन्ने मेरो आकलन छ ।

जनमतले कस्तो रिजल्ट निकाल्छ होला ?

८० प्रतिशत हिन्दु भएको देश जनमत संग्रह गर्दा नहुने भन्ने हुदैन । काँग्रेस जनतालाई स्वतन्त्र छोड्नपर्छ भनेर भन्ने पार्टी हो ।

खुम बहादुर खड्का हिन्दुराष्ट्र हुनुपर्छ भनेर लाग्नु भएको छ नि ?

हो उहाँ लाग्नु भएको छ । मैले भनेको कुरा फरक कुरा हो । जनतालाई स्वतन्त्र त हुन दिनुपर्यो नि । जनताले जे भन्छन् त्यो रिजल्टलाई आत्मसात गर्नुपर्छ । काँगे्रस त्यसको पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्