Logo

भरतपुरमा तत्काल मतगणना नभए संसद अवरोध जारी रहन्छ : एमाले



काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले भरतपुर महानगरपालिकामा तत्काल मतगणना नगरे एमालेले संसद अवरुद्ध जारी राख्ने चेतावनी दिए । उनले भने,‘भरतपुरमा अप्रत्यासित घट्ना घटाईयो, मतपत्र च्यात्ने काम भयो, कसले मतपत्र च्यातेको हो भन्ने कुरापनि पुष्टि भैसक्यो।’ उनले तत्काल मतगणना सूचारु गर्नुपर्ने माँग गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले हार्ने निश्चित भएपछि नियतवश रुपमा मतपत्र च्यातिएकोले आफूहरुले तत्काल मतगणना सुरु गर्नुपर्ने भन्दै संसद अवरोध गरेको स्पष्ट पारे । उनले भने,‘तत्काल मतगणना हुनुपर्छ, चुनाव भनेको हार जितको लागि हो, चुनाव हार्नको लागि पनि तयार हुनुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा ज्वालाले आफ्नै जिल्लामा समेत तीन ठाउँमा मत बराबर आएकोले गोलाप्रथाद्धारा हार जित वा निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको उदाहरण पेश गरे ।

उनले प्रधानमन्त्री निर्वाचन रोक्नको लागि आफूहरुले संसद अवरोध नगरेको समेत जिकिर गरे । उनले भने,‘अहिलेको संसद अवरोध प्रधानमन्त्री चयनको लागि रोक्ने उद्देश्यले होईन, भरतपुरमा तत्काल निर्वाचन मतगणना सुरु नभएसम्म हामी संसद अवरोध जारी राख्छौं, भोलि सुरु हुन्छ भने हामी अवरोध गर्दैर्नौ।’

दोस्रो चरणको निर्वाचन विभिन्न नाटक गरेर असार १४ गतेको लागि तोकिएको भन्दै उनले दोस्रो चरणको निर्वाचनमापनि एमालेले राम्रो नतिजा ल्याउने विश्वास दिलाए । उनले भने,‘मधेशमा एमालेको धेरै राम्रो छ।’

उनले पहिलो चरणको निर्वाचनमा एमालेलाई कमजोर र हराउन सकिने गलत नियतले चुनाव गराएको भएपनि एमालेले विजयी हाँसिल गरेको र सरकारले भनेको भन्दा उल्टो परिणाम आएपछि सत्तारुढ दल आँत्तिएको समेत स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्