Logo

प्रधानमन्त्री चयन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने सत्तारुढ दलको माँग



काठमाडौं, १९ जेठ । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगर र प्रमुख तीन दलको बैठक सम्पन्न भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको बैठकमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्न पर्ने धारणा राखेका छन् । बैठकबाट बाहिरिने क्रममा कांग्रेस नेता रमेश लेखकले भने,‘संसद अवरोध गर्नुहुँदैन्, हामीले तत्काल प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्नुपर्ने धारणा राखेका छौैं।’

उनले अघि भने,‘प्रधानमन्त्रीको चयन,बजेटजस्ता कार्यक्रम रोक्न मिल्दैन, नियम र कानुनको व्यवस्थालाई रोक्न मिल्दैन, दोश्रो चरणको निर्वाचन गर्नुछ । सरकार कामचलाउ छ त्यसैले प्रधानमन्त्री चयन महत्त्वपूर्ण हो ।’

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको तत्काल मतगणना भए संसद अवरोध नहुने धारणा राखेको छ । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने,‘प्रधानमन्त्री चयन प्रक्रिया अवरोध गर्ने हाम्रो कुनै मनशाय छैन, भरतपुरमा मतगणना तत्काल भए संसद सूचारु हुन्छ।’

संसदमा राष्ट्रपतिको सुचना पढेर मात्रै कार्यतालिका अघि बढाउन पर्ने ढकालले बताए । उनले थपे,‘संसदको विधिभित्र रहेर काम गर्नुपर्छ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उपप्रधान् एवम् अर्थमन्त्री कृष्णबहादुर महराले कार्यतालिका निकाल्ने अन्तिम अधिकार सभामुखसँग भएको बताउँदै भने,‘संसद रोकिएको कारण अर्के हो।प्रधानमन्त्री चयनसँग जोड्न मिल्दैन।’



प्रतिक्रिया दिनुहोस्