Logo

“आउटगोईङ्ग” प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीको उम्मेद्धवारलाई प्रस्ताव गर्नु विश्वमै दुर्लभ : प्रचण्ड



काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको निर्वाचनमा समर्थन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकारले मुलुकको सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् ।

सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

देउवाको उम्मेद्धवारी कार्यक्रमबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदाहुँदै अर्को प्रधानमन्त्रीको उम्मेद्धवारको समर्थक बन्न पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिए । उनले भने,‘यो विश्वकै दुर्लभ घट्ना हो, मेरा लागि त आईसब्रेक नै हो।’ उनले आउटगोईङ प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीको उम्मेद्धवारलाई समर्थन गरेको सायदै विश्वमै दुर्लभ रहेको बताए ।

आइतबार हुने नयाँ प्रधानमन्त्री निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको समर्थनमा शनिबार उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दे दाहालले उक्त कुरा बताएका हुन्। ‘यसले नयाँ राजनीतिक संस्कारको सुरुआत गरेको छ,’ देउवाको उम्मेदवारीमा प्रस्तावक रहेका दाहालले भने, ‘इतिहासले मलाई यो जिम्मेवारी दिएको थियो।’

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि बहालवाला प्रधानमन्त्री नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावक बन्नु ऐतिहासिक घटना भएको उल्लेख गरे। नौ महिनाअघि सुरु भएको सहमतिको यात्रा आगामी दिनमा पनि निरन्तर अघि बढ्ने उनले बताए।

अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न र अान्दोलनरत दललाई सहमतिमा ल्याउन जरुरी रहेको प्रतिक्रिया दिए। प्रधानमन्त्री पदका लागि शनिबार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा दिइएकोमा देउवाले बिहान ११ बजेर ३० मिनेटमा उम्मेदवारी दिएका हुन्। सभापति देउवाले आफ्ना समर्थकसहित व्यवस्थापिका संसद भवन नयाँबानेश्वर पुगी आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।



प्रतिक्रिया दिनुहोस्