Logo

खानेपानी आयोजना अन्तिम चरणमा



फलेवास (पर्वत), २० जेठ । दक्षिण पर्वतको महाशीला गाउँपालिका–१ होस्राङ्दीमा निर्माणाधिन वृहत लिफ्ट खानेपानी आयोजना अन्तिमचरणमा पुगेको छ ।

आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको हो । झन्डै रु दुई करोडको लागतमा गत वर्षदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिमचरणमा पुगेको छ ।

स्थानीयवासीको रु ४२ लाख बराबरको जनश्रमदानसहित जिल्ला समन्वय समिति पर्वत र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाको रु एक करोड ६६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजनाको निर्माणकार्य थालिएको हो ।

होस्राङदीवासीलाई पर्याप्त खानेपानीको वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजनाको काम आगामी भदौभित्र सकिसक्ने लक्ष्य लिइएको छ । अहिलेसम्म कलेक्सन टेम्बर, इनटेक र बिजुली भवन निर्माण गरिसकिएको छ भने पाइप विछ्याउने विद्युत् लाइनको तार जडान गर्नेलगायतका काम सकिएको निर्माण समितिले जनाएको छ ।
अव दुईवटा भण्डारण ट्याङ्की र घर÷घरमा धारा जडान गर्न मात्र बाँकी रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वरी भुषालले जानकारी दिनुभयो ।

नौ सय मिटर तल रहेको कालिगहिरा मुहानबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घर÷घरमा वितरण गरिने छ ।

विद्युतीय माध्यमबाट चल्ने उक्त आयोजनामा उपभोक्ताले पानी खपत गरेबापत धारामा जडान गरिएको मिटरमा उठेको रकम भुक्तान गर्नुपर्ने हुन्छ । घन्टाँै लागेर मुहानसम्म पुगेर पानी बोकेर खानुपर्ने उक्त ठाउँका बासिन्दाको समस्या उक्त आयोजनाले अव अन्त्य गर्ने भएको स्थानीय टीकाराम भुसालले बताउनुभयो ।

लिफ्ट खानेपानी आयोजनाबाट उक्त गाउँका करिब एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका– १२ ठूलीपोखरीमा पहिलोपटक गत वर्षदेखि लिफ्ट खानेपानी सञ्चालनमा आइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्