Logo

घाइते परियारलाई इजरायलबाट एक लाख सहयोग



रत्ननगर चितवन, २२ जेठ । साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् ।

चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि रु एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज इजरायलका महासचिव चिरञ्जीवी मिश्रले जानकारी दिनुभयो ।

सङ्कलित रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा अस्पताल मै पुगेर आइतबार घाइते परियारलाई हस्तान्तरण गरिएको मिश्रले बताउनुभयो ।

परियार सुकुम्बासी भएकाले उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएर सहयोग गरिएको जनाइएको छ । गएको चैत १६ गते माडीमा पैदल हिँडिरहेका बेला साइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । टाउकोमा रगत जमेका कारण उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

एकपटक शल्यक्रिया गरिएको उनको टाउकोमा पुनः पानी जमेपछि दोस्रो पटक शल्यक्रिया गरिएको उनकी श्रीमती विष्णुमायाँ परियारले जानकारी दिनुभयो ।

अस्पतालको आइसीयुमा लामो समय बस्दा अहिले उनको पछाडि घाउसमेत आएको उहाँको भनाइ छ । उपचारमा अहिलेसम्म रु साढे दुई लाख बढी खर्च भइरहेको छोरी सिर्जना परियारको भनाइ छ ।

ठक्कर दिने बालकको परिवार पनि सुकुम्बासी र घाइते परियार पनि सुकुम्बासी भएकाले उनको उपचारका लागि आर्थिक अभाव रहेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot