Logo

ठाउँ नछाड्न निर्वाचन अधिकृतलाई निर्देशन



काठमाडौं २५ जेठ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा नछाड्न निर्देश गरेको छ । निर्वाचन अधिकृतहरु आफूखुसी खटिएका स्थान छाडेर बाहिरिन थालेपछि आयोगले त्यसमा कडाई गरेको छ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४६१ स्थानीय तहमा उपसचिव स्तरका निर्वाचन अधिकृतहरु खटाएको छ । यसअघिको घोषित मिति जेठ ३१ मा निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी मनोनयनको दिन तोकिएको थियो । आयोगले त्यसका लागि जेठ १५ बाट सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएको थियो । तर, निर्वाचनको तिथि असार १४ मा पुग्दा निर्वाचन अधिकृतहरु कामविहीन भएका छन् ।

प्राय: जसो अधिकृतहरुले सुरुका २/४ दिन तोकिएको स्थानमा बसेपनि पछि बाहिरिएका छन् । उनीहरु निर्वाचनका लागि काजमा खटिएकाले साविकको कार्यालयमा पनि हाजिर नगर्नुपर्ने भएपछि आफूखुसी बिदा मनाएका छन् । त्यस्ता खाले गुनासो बढेपछि आयोगले आफूखुसी खटिएको स्थान नछाड्न निर्देश गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले खटिएको स्थानबाट जिल्ला सदरमुकाम आउनुपर्दा वा अन्यत्र जानुपर्दा लिखित रुपमा जानकारी गराउन निर्वाचन अधिकृतहरुलाई परिपत्र गरिएको बताए । ‘उहाँहरुले निर्वाचनको काममा कुनै बाधा नपुग्ने गरी मुख्य निर्वाचन अधिकृतको अनुमतिमा मात्रै आफ्नो ठाउँ छाड्न पाउनेछन्,’ उनले भने ‘त्यसको लिखित जानकारी सम्बन्धित जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई पनि गराइनुपर्छ ।’

निर्वाचन अधिकृतहरुले तोकिएको स्थानमा बसेर मतदान केन्द्र अनुगमन, राजनीतिक समझदारीका लागि छलफल, आचारसंहिताको अनुगमन, मतदाता शिक्षा लगायतका काम गर्नुपर्ने शर्माले बताए । ‘आम मानिसको नियम, कानुन वा निर्वाचन सम्बन्धी अन्य जिज्ञासालाई पनि निर्वाचन अधिकृतले बुझाउन सक्नुपर्छ,’ उनले भने ‘निर्वाचनसँग सम्बन्धित जतिपनि काम छन् । काम छैन भनेर आफूखुसी स्थान छाड्न भएन ।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्