काठमाडौँ, २५ जेठ । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।
यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराइमा ८.६, हिमालमा ९.१ र काठमाडौँ उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।
सरकारले बजार अनुगमनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हडताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । “वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ”– नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर १० प्रतिशत थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४, तरकारीको मूल्यमा १३.१ र घ्यु तथा तेलको मूल्यमा १.९ प्रतिशत कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैंकको प्रतिवेदनमा उल्लेख छ ।
सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति भने ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १०.४ प्रतिशत थियो । यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम हुन गएको हो ।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशत वृद्धि भएको थियो ।
विप्रेषण बढ्यो, व्यापार घाटा सात खर्ब ४७ अर्ब
विदेशबाट भित्रने विप्रेषण गत वर्षको तुलनामा ५.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत वैशाखसम्मको मुलुकको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा विप्रेषणमा वृद्धि भएको उल्लेख छ ।
गत वैशाखसम्म विदेशमा रहेका नेपालीले रु पाँच खर्ब ६६ अर्ब ९७ करोड विप्रेषण पठाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।
देशबाट बाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर रु ५३ अर्ब ८४ करोड बचतमा रहेको छ । यद्यपि चालु खाता भने रु ७ खर्ब ५७ करोड घाटामा रहेको छ ।
व्यापार घाटा रु सात खर्ब
बैंकले वैशाखसम्मको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै निर्यात रु ६१ अर्ब दुई करोड हुँदा आयात रु आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको जनाएको छ । जसले गर्दा समग्र व्यापार घाटा रु सात खर्ब ४७ अर्ब ६५ करोड पुगेको छ ।
पेट्रोलियम पदार्थ, यातायातका साधन तथा यसको पार्टपुर्जा आयातका कारण समग्र व्यापार घाटा बढेको हो । रासस
प्रकाश