Logo

नयाँ दिल्लीले सुरु गर्यो देउवाको भारत भ्रमणको तयारी



नेपालप्रति भारतको चाहना : तीन तहकै निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन
नयाँ दिल्ली, २६ जेष्ठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामी असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै गराउने गरि नयाँ दिल्लीले आन्तरिक तयारी थालेको छ ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले यस्तो खुलासा गरेका हुन् । स्रोतले भन्यो,‘नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै त्यसको एक महिनाभित्रै नेपालको प्रधानमन्त्रीको भारत भ्रमण गराउनेगरि यहाँ गृहकार्य भैरहेको छ, पहिलो कुरा नेपालको चुनाव राम्रोसँग सम्पन्न हुनुपर्यो ।’

भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले पनि भारत नेपालमा हुन गैरहेको चुनावको पक्षमा रहेको बताए । उनले भने,‘हामी त चुनाव समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं, अब तीनै तहको निर्वाचन समयमै सम्पन्न होस् भन्ने हाम्रो विशेष चाहना छ, यसको लागि हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।’

उनले कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा आफ्नो पार्टी भाजपा र खासगरी भारतीय जनताहरुपनि निकै खुशी भएको प्रतिक्रिया दिए । उनले भने,‘देउवाजी प्रधानमन्त्री बन्नुभएकोमा हामी खुशी छौं।’ कोशीयारीले देउवाको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै मजबुद भएको र आगामी दिनमा अझै यो सम्बन्ध आर्थिक–समृद्धिको लागि थप मजबुद हुने विश्वास दिलाए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहाना पनि नेपालमा स्थायित्व, शान्ति र समृद्धि भएको जनाए । कोशीयारीले भने,‘हाम्रो प्रधानमन्त्रीले पनि खासमा यही चाहानु भएको छ।’ उनका अनुसार प्रधानमन्त्री मोदीले पनि नेपालमा तीन तहकै निर्वाचन समयमै सम्पन्न भएर संविधान कार्यान्वयनको बाटोमा अघि बढेको हेर्न चाहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्