Logo

२०४२ सालको बमकाण्डका कमाण्डर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, २९ जेठ। बि.सं. २०४२ सालको चर्चित् बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष क. प्रचण्डको हातबाट टिका लगाएर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

तात्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको उहाँ एक कमाण्डर हुनुहुन्थ्यो । बम काण्डपछि डा. महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताउनु भएको थियो । जनवादी मोर्चाका नेतासमेत रहेका सिंहले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गर्नुभएको थियो ।

आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको डा. महासेठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ । नेपालभित्रको जुनसुकै भूगोलमा बसेका नेपाली हुन्, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ । माओवादीको यो नीतिले देशलाई एकतावद्ध गर्ने निष्कर्षसहित माओवादी केन्द्रमा आएको हुँ ।’

डा. महासेठले राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव लामो समय नटिक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले अहिले ठूलो पार्टीजस्तो देखिएको छ । तर, यो लामो समय टिक्दैन । भ्रामक कुरा राजनीतिमा दिगो हुँदैन ।’

पार्टी प्रवेश गराउँदै अध्यक्ष क. प्रचण्डले डा. महासेठको पार्टी प्रवेशले मधेश र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जाने बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘माओवादीले मधेश र मधेशी जनतालाई निरास पार्दैन । सिंगो देशलाई एकतावद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ । तपाईको माओवादी केन्द्रमा प्रवेशले मधेश, मधेशी जनता र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जानेवाला छ । ऐतिहासिक व्यक्तित्वको भावात्मक सन्देशले फेरि मधेशलाई एकतावद्ध गर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot