Logo

स्थानीय तहमा पर्याप्त अधिकार : केसी



थानापति (नुवाकोट), २९ जेठ । सांसद एवम् नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले संविधानले स्थानीय तहमा पर्याप्त अधिकार दिएकाले जनताका विकास निर्माणमा नयाँ जनप्रतिनिधिले निर्वाधरुपमा काम गर्न सक्ने बताउनुभएको छ ।

शिवपुरी गाउँपालिका वडा नं ८, थानापतिको सेल्वालटाेलस्थित सङ्कटेश्वर महादेव मन्दिरको यहाँ आज उद्घाटन गर्दै उहाँले अब जनताले आफ्ना काम लिएर सिंहदरबारका मन्त्रालय वा जिल्ला सदरमुकाममा धाउनु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानले स्थानीय तहमा सोचेभन्दा बढी अधिकार दिएको छ, विकास निर्माणलाई अगाडी बढाउन जनप्रनितिधिले सबैलाई समेटेर जान सक्नुपर्छ ।”

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले आफूहरुले निर्वाचित भएपछि पहिलो प्राथमिकता भूकम्पपीडितको अनुदान वितरणलाई दिएको उल्लेख गर्दै अनुदान वितरण कार्यमा कोही पनि पीडित नछुट्ने गरी सम्बन्धित वडाले सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वडा नं ८ का वडाध्यक्ष पदमबहादुर थपलिया, नेपाल तरुण दलका क्षेत्रीय सभापति केशव रिजाल, स्थानीय समाजसेवी राजु उप्रेती र पत्रकार प्रकाश सिलवाल लगायतले गाउँको विकासमा सबै दल र पक्ष मिल्न सक्नुपर्नेमा जोड दिनुभयो ।

मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर थपलियाले सहरी विकासको रु चार लाख ३० हजारमा सो मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।

सांसद केसीले आजै सोही वडाको सानो छहरेमा खेलिएको क्यानोनिङ्को अवलोकन पनि गर्नुभयो । रासस (तस्बिर उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्

Screenshot