Logo

उम्मेदवार आफैँ मतदान गर्ने तरिका सिकाउन गाउँगाउँमा



रामपुर (पाल्पा), १ असार । यस जिल्लामा उम्मेदवार आफँै मतदान गर्ने तरिका सिकाउन गाउँगाउँमा गएका छन् । निर्वाचनमा मत बदर हुन नदिन मतपत्र बोकेर उम्मेदवार गाउँगाउँमा पुगेका हुन् ।

निर्वाचन कार्यालयले मतदान गर्ने तरिकाबारे नगरपालिका तथा गाउँपालिकाका गाउँगाउँमा स्वयम्सेवक कर्मचारी परिचालन गरे पनि प्रभावकारी नभएको गुनासो मतदाताबाटै आएपछि उम्मेदवार आफैँ घरदैलोमा मतदान गर्ने तरिका सिकाउन निस्किएका हुन् ।

निर्वाचन कार्यालयले छनोट गरी पठाएका मतदाता स्वयम्सेवक कर्मचारी कतिपय गाउँमा नपुगेको गुनासा पनि मतदाताबाट आएका छन् । गाउँगाउँमा विभिन्न दलका उम्मेदवारले मत माग्न जाँदा मतदान गर्ने तरिका नै थाहा नभएको जवाफ मतदाताबाट पाएका छन् ।

मतपत्रै बोकेर गाउँगाउँमा मतदान गर्ने तरिका सिकाउन थालेको रामपुरकी सावित्रा गौतम बताउनुहुन्छ । उहाँ आफैँ रामपुर नगरपालिका–५ को खुल्ला महिला सदस्य पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मतदातासँग मत माग्न जाँदा उहाँहरु मतदान गर्ने तौरतरिकामा धेरै अलमलमा परेको भेटें । मतदाताको मागलाई ध्यानमा राखेर अहिले निर्वाचनको मतपत्र बोकेर गाउँगाउँमा मतदान गर्ने तरिकाबारे सिकाउने काममा व्यस्त छु” – उहाँले भन्नुभयो ।

कतिपय गाउँमा मतदाता स्वयम्सेवक कर्मचारी नै नपुगेको र कतिपय गाउँमा पुगे पनि सबैका घरघरमा नपुगेको गुनासा धेरैको रहेको उहाँको भनाइ छ । उहाँका अनुसार केही ठाउँका मतदाताले निर्वाचन नजिकिँदै जाँदा मतदाता स्वयम्सेवक गाउँमा कहिले आउँछन् भनेर पर्खेर बसेका छन् ।

पार्टीले निश्चित समय तोकेर गाउँगाउँमा खटाएको छ, मतदातालाई मतदान गर्ने कार्य सिकाउँदा अनायासै समयको बर्बादी भइरहेको छ,” नेपाली काँग्रेस रामपुर नगरपालिकाका–६ का अध्यक्ष पदका उम्मेदवार हुमनाथ न्यौपानेले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्